सहमति खोज्दा प्रदेशको नामाकरण हुन सकेन : राई

विराटनगर – प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा प्रदेशले नामकरण हुनुमा आफू मात्र दोषी नभएको बताएका छन्। मुख्यमन्त्रीबाट गत बिहीबार राजीनामा दिएका राईले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेशको राजधानीसँगै नाम टुंग्याउने प्रयास भए पनि सम्भव नभएको बताए।

‘मेरो प्रयास थियो राजधानी र नामकरण सँगै टुंग्याउने तर त्यो सम्भव भएन। प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुले त्यति बेला टुंग्याउनु सक्नुभएन,’ उनले भने, ‘हामीले सबैको सहमतिमा छलफल र समय चाहिन्छ भन्ने कारणले थाँती रोखका हौं।’

निवर्तमान मुख्यमन्त्री राईले प्रदेशको नामकरण नहुनुमा मुख्यमन्त्रीको असक्षमताका कारण नरहेको प्रष्टीकरण दिए। उनले भने, ‘मुख्यमन्त्रीले मात्रै निर्णय गर्दा हुने भए सुरुमा नै प्रदेशको नाम घोषणा गरिदिने थिएँ।’ उनले सबै दलसँग छलफलअगाडि बढाएर सबैको सहमतिमा प्रदेशको नामकरणमा आफू लाग्ने प्रतिवद्धता व्यक्त गरे।

पार्टीभित्रको बिग्रह र विखण्डन र टुटफुटका कारण कम क्षति होस् भनेर आफूले पदबाट राजीनामा दिएको बताउदै उनले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का रहन आग्रहसमेत गरे। ‘म पाँच वर्षे कार्यकालका लागि नियुक्त भएको थिएँ। तर हिजो अचानक मैले राजिनामा गर्न पर्‍यो,’ उनले भने, ‘अनपेक्षित रूपमा राजनीतिक बदलाव आएपछि राजिनामा गर्नु पर्‍यो।’

उनले प्रदेश सरकारले निर्माण गरेका सडक पुल र विकासका अन्य काम निर्माणधीन अवस्थामा रहेको समेत बताए। निवर्तमान मुख्यमन्त्री राईले प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको दाबी गरे। ‘मैले धेरै गर्न सकिनँ होला, जनताले अपेक्षा रोखेका थिए। मैले गर्न सकिन होला तर मैले गल्ती गरेको छैन,’ उनले भने, ‘म जतिबेला पनि शिर ठाडो पारेर उभिन सक्ने हिसाबले काम गरेको छु।’ थाहाखबर ।