पानी सुकेपछि पशुचौपायाको चरनस्थल  बनेकाे बराहतालमा भरिन थाल्यो पानी

सुर्खेत —  बराहताल गाउँपालिका–४ स्थित बराहतालमा पानी देखिन थालेको छ ।  १६ बिघामा फैलिएको तालमा माटो र विभिन्न झारपातहरू निकालेपछि पानी जम्मा हुन थालेको गाउँपालिकाले जनाएको छ । यस  अघि संरक्षण अभावमा ताल सुक्दै गएकाे थियो ।

५ वर्षअघि तालमा पानी सुकेपछि ताल पशुचौपायाको चरनस्थल बनेको थियो । तालमा पानी भरिन थालेपछि पर्यटक भित्रिने आशा पलाएको गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले बताए । उनका अनुसार तालमा जम्मा भएको फोहोर, माटो र विभिन्न रुख बिरुवाहरू हटाएपछि तालमा पानी जम्मा हुन थालेको हो ।

‘पानी भरिने आशा नै मरेको थियो,’ उनले भने, ‘तर यो वर्ष वर्षाको पानी जम्मा भइरहेको छ, आसपासका मुहान पनि फुटेको अनुमान छ ।’ उनले गाउँपालिकासँग बजेट नभएपछि ताल संरक्षणका लागि प्रदेश र संघीय सरकारसँग बजेट माग गरिएको बताए ।

२०७२ को भूकम्पपछि तालमा पानी हराउँदै गएको हो । तालमा पानी सुकेपछि पर्यटकीय गतिविधि पनि सुस्ताएको अध्यक्ष बस्नेतले बताए । उनका अनुसार पर्यटक आउन छोडेपछि तालनजिकै रहेको मन्दिर पनि जीर्ण बनेको छ । तालको संरक्षण गर्दै मन्दिर पुनर्निर्माण गर्ने योजना अघि सारिएको उनले बताए ।

उनका अनुसार २०३६ देखि रमणीय र पर्यटकीय गन्तव्यको रूपमा विकास भएको तालमा ४० को दशकयता पर्यटकीय गतिविधि बढेको हो । ‘ताल सुकाउने झार र माटो फोलेपछि तालमा पानी जम्मा हुन थालेको छ,’ उनले भने, ‘स्थानीय र तीनवटै तहका सरकारको समन्वयमा संरक्षणको पहल थालिएको छ ।’

प्रदेश सरकार र स्थानीय तहको समन्वयमा ताल पुनर्निर्माण योजना अघि सारिएको कर्णाली प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले बताए । उनका अनुसार तालवरिपरिको क्षेत्रमा पनि संरक्षणको पहल थालिएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा तालको संरक्षणको लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ । २ वर्षको अवधिमा ताल संरक्षणका लागि झन्डै ९० लाख रुपैयाँको काम भएको उनले जानकारी दिए ।

गाउँपालिकाले ताल संरक्षणका लागि ८ करोड रुपैयाँको लागत अनुमान गरी डीपीआरसमेत निर्माण गरिसकेको छ । ताल संरक्षणका लागि राष्ट्रपति चुरे–तराई विशेष कार्यक्रमसँग पनि अनुरोध गरिएको गाउँपालिका अध्यक्ष बस्नेतले बताए । तर गाउँपालिका र कार्यक्रमबीच समन्वय नहुँदा विगत दुई वर्षमा विनियोजन गरिएको बजेट फ्रिज गएको स्थानीयको गुनासो छ ।