एक वर्षपछि सुत्केरी भत्ता

हुम्ला — चंखेली गाउँपालिकाका सुत्केरीलाई एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता दिइएको छ । प्रदेश सरकारबाट आउनुपर्ने रकमको निकासा ढिलो गरी आएपछि गाउँपालिकाले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता दिएको हो ।

गाउँपालिकाले स्वास्थ्यचौकीमा निकासा दिन ढिलो गरेपछि सरकारी स्वास्थ्य संस्थामा गत साउनमा सुत्केरीले समेत भत्ता पाउन एक वर्ष कुर्नुपरेको हो । सरकारले गर्भवती तथा सुत्केरीको पोषणमा सुधार ल्याउन ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरे पनि हुम्लाका महिलाले समयमा कहिल्यै सुत्केरी भत्ता पाउँदैनन् । ‘तत्काल दिए पोषण तत्त्वयुक्त खानेकुरा खाना पाइन्थ्यो,’ स्थानीय कमला बुढाले भनिन्, ‘एक वर्षपछि भत्ता पाएर के गर्ने रु’ उनले सरकारले समयमै भत्ता नदिँदा नाम मात्रको भत्ता हुन पुगेको गुनासो गरिन् ।

मेल्छाम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी हर्क बुढाले ढिलो गरी भत्ता आउँदा सुत्केरी निराश बनेको बताए । उनका अनुसार समयमै भत्ता आएको भए विपन्न अवस्थाका सुत्केरीलाई पोषणयुक्त खानेकुरा खान सजिलो हुन्थ्यो । ‘एक त गाउँपालिकामै भत्ता ढिलो गरी आयो, त्यसमा पनि गाउँपालिकाले स्वास्थ्य चौकीलाई झन्डै ३ महिना रोकेर भत्ता पठायो,’ उनले भने, ‘यो समस्या ३ वर्षदेखि नै छ ।’

गाउँपालिकाले गत आर्थिक वर्षमा १ सय ५० महिला सुत्केरी हुने अनुमानसहित यातायात खर्च माग गरेको थियो । तर पालिकाभरि १ सय ६५ सुत्केरी भएपछि भत्ता वितरण गर्न समस्या भएको गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढाले बताए । उनका अनुसार अहिले पनि १ सय ५० सुत्केरीलाई मात्र भत्ता वितरण गरिएको छ । बाँकी १५ जनालाई चालु आर्थिक वर्षको बजेटबाट भत्ता उपलब्ध गराइने उनले जानकारी दिए ।

६ वडा रहेको चंखेली गाउँपालिकामा दार्मा, मिमी, श्रीमष्ठा र मेल्छाममा स्वास्थ्य चौकीमा प्रसूति केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई ३ हजार रुपैयाँ यातायात खर्च दिने गरिएको छ भने उनीहरूले चार पटक गर्भ जाँच गराएबापत थप ४ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउँछन् ।  कान्तिपुर