
सुर्खेत – कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतको आयोजनामा “प्रहरी युनिटसँग प्रहरी अस्पताल” कार्यक्रमको पहिलो चरण सुरु गरिएको छ। कार्यक्रमको पहिलो दिन सुर्खेत उपत्यकास्थित प्रहरी युनिट अन्तर्गत कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा शुभारम्भ गरिएको हो।
उक्त कार्यक्रमको उद्घाटन गण प्रमुख प्रहरी उपरीक्षक प्रेम सागर के.सी. को प्रमुख आतिथ्यमा सोमबार बिहान १०ः३० बजे गरिएको थियो। कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख डा. श्याम कृष्ण लौडारी नेतृत्वको ६ सदस्यीय स्वास्थ्यकर्मी टोलीले गणमा कार्यरत प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण तथा बिएमआई जाँच गरेको थियो।

स्वास्थ्य परीक्षणमा ३८ जना महिला र १९१ जना पुरुष गरी जम्मा २२९ जना प्रहरी कर्मचारी सहभागी भएकाे कर्णाली प्रदेश प्रहरी अस्पतालले जनाएको छ। कार्यक्रमको प्रारम्भमा अस्पताल प्रमुख डा. लौडारीले सहभागी प्रहरीहरूलाई स्वास्थ्य र खानपानमा ध्यान दिने, मादक पदार्थ र सुर्तीजन्य वस्तुबाट टाढा रहने तथा मानसिक तनाव व्यवस्थापन सम्बन्धी परामर्श प्रदान गरेका थिए।
यस कार्यक्रमअन्तर्गत सुर्खेत उपत्यकाका अन्य प्रहरी युनिटहरूमा पनि क्रमशः स्वास्थ्य परीक्षण र परामर्श कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य परीक्षण टोलीका स्वास्थ्यकर्मी बिर्ख भण्डारीले जानकारी दिए ।

