विराटनगर—प्रदेश १ मा सबैभन्दा बढी कोरोना संक्रमण युवामा देखिएको छ । प्रदेशमा शुक्रबार साँझसम्म १ हजार ९ सय ७ जना कुल संक्रमितमध्ये ३४ दशमलव ८५ प्रतिशत युवामा कोरोना संक्रमण देखिएको हो ।
प्रदेशमा १ हजार ५ सय ५ पुरुष र ४ सय २ महिला गरी कुल १ हजार ९ सय ७ संक्रमितमध्ये १ हजार ८ सय ८२ जना संक्रमितको उमेर समूह मन्त्रालयले छुट्टाएको छ । बाँकी २५ जनाको मन्त्रालयको कोरोना अपडेटको तथ्यांकमा उल्लेख छैन ।
संक्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका कोरोना संक्रमित प्रदेश एकमा सबैभन्दा बढी छन् । २१ देखि ३० वर्ष उमेर समूहका ६ सय ५६ जना संक्रमित छन् । जुन ३४ दशमलव ८५ प्रतिशत हुन आउँछ । सो उमेर समूहमा ५ सय १२ पुरुष र १ सय ४४ जना महिला छन् । समाजमा एकापसमा युवाहरू बढी घुलमिल हुने कारण पनि युवामा बढी संक्रमण देखिएको विज्ञहरु बताउँछन् ।
यसका साथै असुरक्षित तवरमा सार्वजनिक सवारीसाधन प्रयोग गरिरहेका कारण पनि संक्रमण फैलनमा सहयोग पुगेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा लापरवाही देखिएकोले संक्रमण युवामा बढी देखिएको विज्ञको भनाइ छ ।
प्रदेश १ मा संक्रमित मध्ये दोस्रोमा ३१ देखि ४० वर्ष उमेर समूहका छन् । सो उमेर समूहका ४ सय ५ पुरुष र ८८ जना महिला गरी ४ सय ९३ जना छन् । जुन २६ दशमलव १९ प्रतिशत हो । यस्तै, तेस्रोमा ११ देखि २० वर्ष उमेर समूहका रहेका छन् । सो उमेर समूहमा १४.२४ प्रतिशत अर्थात २ सय २३ पुरुष र ३५ महिला गरी २ सय ६८ जना संक्रमित छन् ।
चौथोमा ४१ देखि ५० वर्ष उमेर समूहका १२.६९ प्रतिशत छन् । सो उमेर समूहका १ सय ९० पुरुष र ४९ महिला गरी २ सय ३९ जना छन् । यसैगरी ५१ देखि ६० वर्ष उमेर समूहका १ सय १५ जना छन् । सबैभन्दा कम ६१ देखि ७० वर्ष उमेचर समूहका छन् । सो उमेर समूहमा १९ पुरुष १४ महिला गरी ३३ जना छन् । १० वर्षभन्दा मुनि उमेर समूहका बालवालिकाहरु ५६ जना छन् ।
१ हजार ८ सय ८२ संक्रमितमध्ये २५ जनाको उमेर समूह नखुलेको मन्त्रालयले जनाएको छ ।
यस कारण देखियो युवामा बढी संक्रमण
वैदेशिक रोजगारबाट फर्किएर क्वारेन्टाइनमा बसेका र बाहिर हिड्ने युवामा अन्य उमेर समूहको तुलनामा अलिक बढी संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।
एकापसमा घुलमिल हुने कारण पनि युवामा बढी संक्रमण देखिएको उनले बताए। घरमा बसिरहन नरुचाउने र समाजमा बढी घुलमिल हुने भएकाले युवा बढी संक्रमित हुन पुगेको डा. मेहताले बताए।
‘क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो भने नियन्त्रणमा आउने गरेको छ’, उनले भने, ‘बाहिर बजारमा डुलेर हिड्ने युवा समूहमा संक्रमण देखिएको हो भने समुदायमा फैलने खतरा बढी हुने गरेको छ ।’ युवामा कोरोना संक्रमण भए पनि सञ्चो भइहाल्छ भन्ने सोच हावी देखिएको उनले बताए ।
‘लकडाउन उल्लंघन गर्ने, पास दुरुपयोग गर्ने, सुरक्षात्मक मापदण्ड प्रयोग नगर्ने प्रवृत्ति छ’, उनले भने, ‘लक्षण पनि देखिएको छैन भने आफू संक्रमित भएको थाहै पाउँदैनन् ।
झन् धेरैलाई कोरोना भाइरस सार्ने जोखिम हुन्छ ।’ उनले पहिलो चरणमा विदेशबाट फर्किएका व्यक्तिहरुमा देखिएको संक्रमण अहिले समुदायस्तरमा देखिएको सुनाए ।
‘पछिल्लो समय लकडाउन खुकुलो भइसकेपछि स्थानीयस्तरमा संक्रमण देखिन थालेको छ’, उनले भने । चलायमान समूहमा संक्रमण देखिनुले आगामी अवस्था गम्भीर रहेको संकेत गर्छ । यही समूहले घरमा बालबालिका र वृद्धवृद्धालाई संक्रमण सार्ने जोखिम हुने गरेको विज्ञको भनाइ छ ।
प्रदेश १ मा कोरोनाको कारण ९ जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउने सबै मोरङका छन् । विराटनगरका ६ जना र बढीगंगा गाउँपालिका २ का १ जना, रंगेली ८ का १ र सुनवर्षी नगरपालिका ८ का १ जनाको कोरानाको कारण मृत्यु भएको छ । मृत्यु हुने सबै पुरुष हुन् ।
३० वर्षका एक जना युवादेखि ७७ वर्षका वृद्धासम्मको कारानाको कारण प्रदेशमा ज्यान गुमाएका छन् ।