ओलीले नै अध्यक्षको प्रस्ताव राखेका हुन्, उनैले राखेको छैन भन्दै हिँडेका छन् : माधव नेपाल

काठमाडौं, – एमाले वरिष्ठ नेता माधव नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै अध्यक्षको प्रस्ताव राखेको बताएका छन्। आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा बोल्दै वरिष्ठ नेता नेपालले आफैंले अध्यक्षको प्रस्ताव गरेर गरेको छैन भन्दै ओली नै हिँडेको समेत बताए।

‘साथीहरू अझै प्रयास गरिरहनुभएको छ। एक त सम्भव भएसम्म एकता गर्ने कुरा त मैले पनि चाहेकै हो,’ नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले भने, ‘ओलीको अहिलेको क्रियाकलापले त्यति सजिलो देखिएको छैन। साथीहरू लागिरहेका छन्। अझै हेरौं न के हुन्छ।’

उनले सम्मानजनक एकता भएन भने अघि बढ्न नसकिने समेत बताएका थिए। सम्मानजनक एकता नभएमा ओलीसँग रहन नसकिने धारणा समेत बैठकमा आएको पाण्डेले बताए।

‘पुस ५ गते र जेठ ८ गतेको प्रतिनिधिसभा विघटन ठिक थियो कि थिएन भन्न पर्‍यो नेतृत्वले। त्यो ठिक थियो भने हामीले सडकमा गरेको आन्दोलन पनि गलत हो भन्नुपर्छ भन्ने धारणा आएको छ,’ उनले भने, ‘अहिले त केपी ओलीनै माधव नेपाललाई प्रतिगामी भन्दैछन्। कसले भनेको ठिक हो त भन्नेमा स्पष्ट हुनुपर्छ। यो राजनीतिक लडाइँ हो। राजनीतिक लडाइँ भएपछि संसद विघटन गलत थियो भन्न पर्‍यो कि परेन भन्ने समेत साथीहरूको धारणा छ।’

बैठकमा कार्यदलका तर्फबाट भइरहेको वार्ताको प्रयासबारे कार्यदलका संयजोक भीम रावलले जानकारी गराएका थिए। रावलले पार्टीमा आफुमाथी व्यक्तिगत आरोप लगाइएको समेत गुनासो गरेका थिए।

वरिष्ठ नेता नेपालले बैठकमा धेरै लामो समय बोल्न नमिल्ने भएकाले आफ्ना धारणा लेखेर दिन समेत भनेका थिए। नेपालले त्यसो भन्दै गर्दा केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले रावलले भनेका आधारमा एकता नहुने र आफूहरू बोल्न पाउनुपर्ने भन्दै प्रतिवाद समेत गरेका थिए। बैठकमा रावलले माधव नेपाल अर्को अध्यक्ष नबन्ने हो भने च्याप्टर क्लोज भयो भनेर ओलीले भनेको समेत बताएका थिए। फेरि वार्ता गरौं भनेर भनेको पनि उनले जानकारी दिएका थिए।

‘कार्यदलमा रहेका नेताहरु आत्तिएको जस्तो देखिन्छ। राम्रोसँग कुरा गर्नै सक्दैनन् जस्तो लाग्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘यसो कुरा सुन्दा सबै कुरा मिल्यो भन्ने तर केही नमिल्ने जस्तो देखिएको छ। सुवास नेम्वाङ र विष्णु पौडेलसँग कुरा मिल्यो भन्ने। अनि ओलीले हुन्न भनेपछि फर्किने हो कि जस्तो लाग्यो।’