काठमाडौं – प्रतिनिधिसभा विघटनको मुद्दा टुंग्याएपछि बस्न नसकेको सर्वोच्च अदालतको संवैधानिक इजलासको शुक्रबार पेशी राखिएको छ ।
वरिष्ठताक्रम अनुसार न्यायाधीश छनौट गर्ने प्रतिवद्धता जनाएका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले बरिष्ठताक्रममा दुई न्यायाधीश छाडेर थप न्यायाधीश सहित इजलास गठन गरेका छन् ।
प्रतिनिधिसभाको दोस्रो विघटनको समयमा सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा जबराले अब संवैधानिक इजलास गठन गर्दा बरिष्ठताक्रममा रहेका न्यायाधीशहरुको इजलास राख्ने प्रतिवद्धता जनाएका थिए ।
शुक्रबारको इजलासमा प्रधानन्यायाधीश जबरा सहित न्यायाधीशहरु मीरा खडका, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् । वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ शुक्रबारको इजलासमा छैनन् । सर्वोच्च अदालत स्रोतका अनुसार वरिष्ठतम न्यायाधीश कार्कीको अर्को हेर्दाहेर्दैको मुद्दा भएकाले उनलाई इजलासमा नराखिएको हो ।
अर्को न्यायाधीश श्रेष्ठ भने लामो विवादमा छन् । सर्वोच्च स्रोतले भन्यो, ‘त्यसैले कार्की र श्रेष्ठ श्रीमान संवैधानिक इजलासमा नरहनुभएको हो ।’ शुक्रबारको इजलासमा बहुचर्चित संवैधानिक परिषदसम्बन्धी अध्यादेश र नियुक्तीका कुनैपनि मुद्दा छैनन् । तिनको पालो आगामी दिनमा आउने सर्वोच्च अदालत स्रोतले जनायो ।