मनाङ र मुस्ताङका सबै नागरिकले खोप लगाए

काठमाडौं – गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा कोरोनाको पूर्ण खोप लगाइएको छ। नेपालमा कोरोना विरुद्धको खोप अभियान सुरु गरेपछि मनाङ र मुस्ताङका सम्पूर्ण नागरिकलाई खोप लगाइएको हो।

हालसम्म मुस्ताङमा एक सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मनाङमा ७३ जना कोरोना संक्रमणको चपेटामा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मुस्ताङमा एक सय १६ जना पुरूष र ७३ जना महिलामा कोरोना संक्रमण पुष्टिभएको हो। यस्तै मनाङमा ३४ जना पुरूष र ३९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङमा छ हजार ५ सय ३८ जनसंख्या रहेको छ। प्रतिवर्गकिलोमिटर ३ जनाको जनघनत्व रहको मनाङमा ७४ प्रतिशत साक्षरता रहेको छ। यस्तै अर्को पूर्ण खोप लगाएको जिल्ला मुस्ताङमा २०६८ सालको जनगणना अनुसार १३ हजार चार सय ५२ जनसंख्या रहेको छ। गत माघबाट सुरु भएको खोप अभियानको हालसम्म २ जिल्लालाई पूर्ण भ्याक्सिनेट गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा जम्मा २० लाख ७४ हजार सात सय ८६ जनामा पूर्ण खोप लगाइएको छ। अहिलेसम्म पहिलो मात्राको खोप लगाएका व्यक्तिहरु ४२ लाख ९७ हजार छ सय १२ जना रहेका छन्। भारतबाट आयात गरिएको कोभिसिल्ड, चीनबाट आयात भएको भेरोसेल र अमेरिकाबाट आयात भएको जोनसन एण्ड जोनसन गरी तीन वटा कम्पनीको खोप नेपालमा लगाइएको छ।

जम्मा संक्रमित मध्येको ९३ दशमलब ८४ प्रतिशत निको भएका, ४ दशमलब ७५ प्रतिशत सक्रिय संक्रमित र १ दशमलब ४१ प्रतिशतले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ३३ हजार चार सय ६४ सक्रिय संक्रमित रहेका छन्।