अष्ट्रेलियाविरुद्ध बंगलादेशको ऐतिहासिक जित

काठमाडौं – घरेलु टिम बंगलादेशले पहिलो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराएको छ।

ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो। टी- ट्वान्टी अन्तराष्ट्रियमा अष्ट्रेलियाविरुद्ध बंगलादेशको यो ऐतिहासिक जित हो । यस अघि बंगलादेशले टी-ट्वान्टीमा अष्ट्रेलियालाई हराउन सकेको थिएन।

बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र जोड्न सक्यो। अष्ट्रेलियाका लागि मिचेल मार्शले ४५ रन जोडे पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मिचेल स्टार्कले १४ रन जोड्दा कप्तान म्याथ्यु वेडले १३ रन बनाए।

अष्ट्रेलियालाई सस्तैमा समेट्न बंगलादेशका नासुम अहमेदले ४ विकेट लिए। मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २-२ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो। बंगलादेशका लागि शकिब अल हसनले ३६ रन जोड्दा मोहमद नाइमले ३० रन बनाए।

अष्ट्रेलियाका जोस हाजलउडले ३ विकेट लिए। मिचेल स्टार्कले २ विकेट लिए। यस जितसँगै बंगलादेशले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।