काठमाडौं – नेकपा (माओवादी केन्द्र) का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला तुइन प्रकरणमा भारतले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै श्रेष्ठले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था गर्न माग गरे।
अहिलेसम्म आएका तथ्यहरुले के प्रष्ट गरेको छ भने यो एसएसबीले तुइन काटिदिएकै कारण जयसिंह धामी महाकालीमा बेपत्ता भएका हुन्। म यसप्रकारको अमानवीय उत्पीडनकारी र क्रुर कार्यको घोर निन्दा एवं भत्सर्ना गर्दछु।
श्रेष्ठले भने, यसका निम्ति भारतले सार्वजनिक रुपमा नेपाल र नेपाली जनतासँग क्षमायाचना गर्न माग गर्दछु, दोषी व्यक्तिहरूमाथि तत्काल कडा कारबाही गर्न र आगामी दिनमा यसप्रकारको उत्पीडनकारी हेपाहा व्यवहार नदोहोर्याउन जोडदार माग गर्न चाहन्छु।’
तत्काल छानबिन समितिको रिपोर्ट ल्याएर भारतसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्न उनले सरकारको ध्यानाकर्षण पनि गराए। उनले थपे, ढिलो भइसक्यो, दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई उचित राहत र भरथेगको व्यवस्था गर्न तत्काल कदम चालोस् भन्न चाहन्छु । थाहाखबर ।