कर्णाली डुंगा दुर्घटना अपडेट : एक जनाको मृत्यु


धनगढी – कर्णाली नदीमा भएको डुंगा दुर्घटनामा बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ।

कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको स्थानीय शिक्षक पदमबहादुर भुलले बताए। धनसराको साथमा रहेका १ महिनाका छोरा कर्ण सलामी घाइते भएका शिक्षक पदमबहादुरले बताए।

नदीमा बेपत्ता भएका अन्य ३ जनाको अवस्था अज्ञात छ। २० वर्षीया उर्मिला सलामी मगर, उनका १० दिने शिशु र २० वर्षीया पार्वती थापा बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आइतबार दिउँसो १२ बजे मोहन्याल गाउँपालिका–३ राँगा पलेखा नजिकै उनीहरू सवार डुंगा पल्टिएको थियो। उनीहरू सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गइरहेको स्थानीयले बताएका छन्। डुंगामा सवार अन्य ५ जना भने पौडिएर बाँचेको प्रहरीले जानकारी दिएको छ।

अहिले बेपत्ता भएकाहरूको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।