जुम्ला पनि राष्ट्रिय प्रशारण लाइनमा जाेडियो, सिंजाहुदै छिट्टै मुगु पु¥र्याइने

सुर्खेत – लामो समयपछि जुम्ला जिल्ला बल्ल राष्ट्रिय प्रशारण लाइनमा जाोडिएको छ । आइतबारदेखि जुम्ला पनि राष्ट्रिय प्रशारण लाइनमा जाेडिएको हो । यसअघि राष्ट्रिय प्रशारण लाइनको पहुँचमा नपुग्दा जुम्लावासी अध्यारोमा बस्न बाध्य थिए । बैकल्पिक उर्जा र दियालोका भरमा रहेका जुम्लावासी राष्ट्रिय प्रशारण लाइन जोडिएपछि खुसी भएका छन् ।

जुम्लामा स्थानीय उत्पादनको विद्युत सेवा दिगो र भरपर्दाे नहुदाँ स्थानीयले सास्ती खेप्नु परेको थियो । यसअघि जुम्ला सदरमुकामवासी समेत दैनिक १८ घण्टासम्मको लोडसेडिङको मारमा थिए । तर जुम्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिएपछि सदरमुकामवासीलाई अब लोडसेडिङको पीरलो हट्ने निश्चित बनेको छ ।

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका अनु्सार सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्ला पुगेको ११ केबी राष्ट्रिय प्रशारण लाइन अब छिट्टै मुगुसम्म विस्तार गर्ने तयारी छ । जुम्लाको सिंजा क्षेत्रहुदै राष्ट्रिय प्रशारण लाइन मुगु पु¥र्याइने केन्द्र प्रमुख गौरव पाण्डेले बताए ।

उनका अनुसार जुम्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिएपनि तत्कालका लागि जुम्लामा ५ सय किलोवाट विद्युत मात्रै खपत हुने स्थिती छ । हाल कर्णाली राजमार्ग क्षेत्रमा मात्रै विद्युतका पोल विस्तार गरिएकाले राष्ट्रिय प्रशारण लाइन पुगेपनि तत्काल सबै जुम्लावासीले विद्युत सेवा उपभोग गर्नसक्ने स्थिती छैन ।

‘हाल जुम्लाको तिला र तातोपानी गाउँपालिका राजमार्ग क्षेत्रका सथानीय तथा चन्दननाथ नगरपालिकावासीले मात्रै विद्युत सेवा उपभोग गरिरहेका छन् । तर आउँदो असोज, कार्तिक महिनाभित्रै जुम्लाका सबै स्थानीय तहमा राष्ट्रिय प्रशारण लाइन विस्तार हुनेछ’ केन्द्र प्रमुख पाण्डेले भने, ‘यसका लागि छिट्टै टेण्डर प्रक्रियाबाट सबै स्थानीय तहमा प्रशारण लाइन विस्तार गरिनेछ । गाउँगाउँमा पोल विस्तार गरेर विद्युत जडान गर्ने कार्य सुरु हुनेछ ।’

लामो समयपछि जुम्लालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न सफल भएको भन्दै पूर्व मन्त्री तथा सांसद नरेश भण्डारीले यस कार्यमा सहयोग गर्ने सबै निकायप्रति धन्यबाद व्यक्त गरेका छन् । जुम्लावासी अब अँध्यारोमा बस्ने दिन अनत्य भएको बताउँदै उनले विद्युत सेवाका कारण जुम्लावासीको स्वास्थ्य तथा शिक्षामा समेत उल्येख्य सुधार आउने अपेक्षा व्यक्र गरेका छन् ।