बाँकेमा ५० जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा, अस्पतालको सेवा प्रभावित

बाँके – बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वासथ्यकर्मीहरु क्वारेन्टाइन तथा आइसोलेशनमा बस्न परेपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

अस्पतालका सह–निर्देशक डा. रोमन किदवाईका अनुसार समुदायमा संक्रमण फैलिए पनि बिरामीलाई निरन्तर सेवा प्रदान गर्दै आएका चिकित्सक र स्वास्थ्यकर्मी सक्रमित भएका हुन् । उनले हाल आएर ठुलो संख्यामा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा गएपछि बिरामीलाई सेवा दिन समस्या भइरहेको बताए ।
सह–निर्देशक डा. किदवाइका अनुसार अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरू एकै पटक आइसोलेसन र क्वारेन्टाइनमा गएपछि अस्पतालको सेवा प्रभावित भएको छ । उनले सक्रमित बिरामीको सम्पर्कमा आएर अस्पतालका तीन चिकित्सक र तीन स्वास्थ्यकर्मी गरी छ जना संक्रमित भई आइसोलेसनमा रहेको बताउँदै सक्रमित बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अस्पतालका विभिन्न विभागका अन्य ४४ जना चिकित्सक र स्वास्थ्यकर्मीहरू क्वारेन्टाइनमा रहेको बताए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा संक्रमितलाई उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीहरु नै संक्रमित भएपछि क्वारेन्टाइन र आइसोलेसनमा बस्नु पर्ने अवस्थाको श्रृजना भएको हो । अस्पतालमा सेवा लिन आएका केही बिरामीमा कोरोना भारइरसको संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएका मध्ये केहीलाई संक्रमण भएर आइसोलेसनमा र क्वारेन्टाइनमा बसेका छन् ।