कास्कीमा थप ८ जनामा कोरोना पुष्टि

गण्डकीमा १७ सय पुगे संक्रमित

काठमाडौं- कास्कीमा थप ८ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भेटिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा कास्कीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पोखरा महानगरपालिकाको ५ वटा वडामा उनीहरूमा कोरोना भेटिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

महानगरको वडा नम्बर १ मा २ जना, १४ मा २ जना, १० मा १ जना, २७ मा २ जना र १७ मा १ जना संक्रमित भेटिएका छन्। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय पुगेको छ।

पछिल्लो पटक संक्रमित भेटिएका सबैलाई आइसोलेसन लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ।

यसअघि शनिबार बिहान नै गण्डकी प्रदेशमा १० जना कोरोना संक्रमित भेटिएका थिए। तनहुँका २, कास्कीका ३, बागलुङका २, गोरखा, स्याङजा, नवलपरासी पूर्वका १/१ गरी १० जनामा कोरोना भेटिएको हो।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा यी ६ जिल्लामा गरी १० जनामा कोरोना भेटिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितमध्ये ६ पुरुष र ४ महिला छन्।

तनहुँको भानु नगरपालिका वडा नं २ र ४ मा ३० र ६१ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका ५ र ८ मा ३९ र ३५ वर्षीय पुरुषमा कोरोना भेटिएको हो।

यस्तै, बाग्लुङमा ५४ र ३८ वर्षीय पुरुष, गोरखामा ४७ वर्षीया महिला, स्याङजाको पुतलीबजार १३ मा ३० वर्षीय पुरुष र नवलपरासी पूर्वको मध्यबिन्दु-८ मा ३४ वर्षीय पुरुषमा कोरोना भेटिएको निर्देशनालयले जनाएको छ।