कोरोना त्रास : वीरेन्द्रनगरमा भदौ १ देखि निषेधाज्ञा जारी, सुर्खेत आउन पिसिआर रिपोर्ट अनिवार्य

सुर्खेत – कोरोना भाइरस अर्थात (कोभिड–१९) को जोखिम बढ्न थाले पछि सुर्खेत जिल्ला प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । वीरेन्द्रनगरमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढ्न थालेसँगै प्रशासनले आगामी भदौ १ गतेदेखि वीरेन्द्रनगरमा निषेधाज्ञा गर्ने भएको हो।

बिहीबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिकोे बैठकले आगामी भदौ १ गतेदेखि भदौ ५ गते राती १२ बजेसम्म निधेषाज्ञा गर्ने निर्णय गरेको हो ।

सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्न थालेपछि तत्काल वीरेन्द्रनगरमा निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । निश्चित समयसम्म मात्रै निषेधाज्ञा लागु गर्न लागिएकाले अत्यावश्यक र निर्माण योजनाहरु बाहेक अन्य क्षेत्र पूर्ण रुपमा बन्द गरिने रेग्मीको भनाइ छ ।

वीरेन्द्रनगर बजार क्षेत्रमा स्वास्थ्य मापदण्ड नअपनाएर पसल सञ्चालन गर्ने, भीडभाड धेरै गर्ने, पर्वहरुमा नाचगान र दर खान जाने प्रवृत्ती बढेकाले निषेधाज्ञा गर्नु परेको रेग्मीले बताए। ‘निषेधाज्ञाको क्रममा समस्यामा परेका व्यक्तिहरुलाई राहत तथा उद्धार गर्न अनुगमन समिति बनाएर परिचालन गरिने उनको भनाइ छ ।

समितिले सम्बन्धित ठाउँको आवश्यकताअनुसार त्यस्ता व्यक्तिहरुका मागलाई सम्बोधन गर्नेछ तर विगतको जस्तो मनमौजी गर्नेलाई कुनै छुट दिने छैनौं ।’ ,प्रजिअ रेग्मीले भने ।

कोरोनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतसहित सेवाग्राहीको भीड हुने कार्यालयहरुमा यहीँ साउन २५ गतेबाट अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिसकेको छ । वीरेन्द्रनगर नगरपालिकाले पनि साउन ३० गतेदेखि भदौ ५ गतेसम्म नगरपालिकाका, सबै वडा कार्यालय बन्द गर्ने निणय गरिसकेको छ ।

सुर्खेतमा आज मात्रै थप १८ जना कोरोना संक्रमितहरु पुष्टी भएका छन् । पछिल्लो तीन दिनमा सुर्खेतका ६४ जना कोरोना पुष्टी भएका छन् । यसका साथै, सुर्खेत प्रवेश गर्ने मुख्य नाकाहरुबाट भित्रनेहरुलाई अनिवार्य पीसीआर रिपोर्ट देखाउनु पर्नेछ । मुख्यमगरी सुर्खेत भित्रने बबई, कुइने, कालिमाटी काल्चेबाट सुर्खेत भित्रनेहरुले अनिवार्य पिसिआर नेगेटिभ भएको रिपोर्ट देखाएर मात्रै आउन दिने प्रजिअ रेग्मीले बताएका छन्।