एक बर्षमा १४ जना रंगेहात पक्राउ

सुर्खेत– आर्थिक बर्ष ०७६/७७ को अवधिभर कर्णाली प्रदेशका १० जना रंगेहात पक्राउ परेका छन्। उनीहरुबाट १० लाख ७५ हजार रुपैयाँ वीगो दावी गरिएको छ । रंगेहात पक्राउ पर्नेमा जनप्रतिनिदेखि सरकारी कर्मचारीसम्म छन् ।
बिहिवार पत्रकारसँगको भेटमा अख्तियार दुरुपायोग अनुसन्धानको सुर्खेत कार्यालयका प्रमुख नारायण प्रसाद रिसालले गत आर्थिक बर्षमा ७ वटा मुद्दामाथि अनुसन्धान गर्ने क्रममा १० जना मानिस रंगेहात पक्राउ परेकाे जानकारी दिए । यस्तै एक जना राजस्व हिनामिना गरेको विषयमा पक्राउ परेका छन् ।
जिल्ला अदालत रुकुम पश्चिममा कार्यरत नायवसुब्बा रमेशकुमार खड्का, दैलेखको डुंगेश्वरमा रहेको पिपलचौतारा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष भक्त बहादुर शाही, जुनीचाँदे गाउँपालिकाका जाजरकोटका अध्यक्ष कृष्ण बहादुर केसी, भेरीगंगा नगरपालिका सुर्खेतका खानेपानी सहायक टेक्निसियन चित्रबहादुर केसी आर्थिक बर्ष ०७६/७७ मा रंगेहात पक्राउ परेका छन् ।
यस्तै दैलेखको भैरव माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगनबहादुर बस्नेत र प्रधानाध्यापक नगेन्द्र बहादुर सिंह, खानेपानी, सिंचाई तथा उर्जा विकासस कार्यलय दैलेखका निमित्त प्रमुख ईञ्जिनियर टोपोन्द्र सुन्दर मल्ल, सव ईञ्जिनियर वीरेन्द्र चन्द, रञ्जित श्रेष्ठ र सुपरभाईजर लक्ष्मी पाण्डे पनि गत आर्थिक बर्ष रंगेहात पक्राउ परेका छन् ।
नायवसुब्बा खड्कालाई १५ हजार रुपैयाँ, जुनिचाँदे गाउँपालिका अध्यक्ष केसीलाई ८ लाख रुपैयाँ, भेरीगंगाका खानेपानी सहायक टेक्निसियन केसीलाई २ लाख, भैरव माध्यमिक विद्यालयका अध्यक्ष बस्नेत र प्रधानाध्यापक सिंहलाई ३० हजार, खानेपानी कार्यालय दैलेखका ४ जना कर्मचारीलाई ३० हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।
यस्तै वडा कार्यालयको राजस्व हिनामिना गरेको विषयमा वीरेन्द्रनगर नगरपालिका–४ का प्रशासन सहायक रत्न बहादुर विकलाई अख्तियारले पक्राउ गरेको छ । उनले ११ लाख ५६ हजार रुपैयाँ राजस्व वडा कार्यालयमा दाखीला नगरी हिनामिना गरेको आरोप लागेको छ । विक करार सेवामा प्रशासन सहायकको रुपमा काम गर्दै आएका थिए ।

३७ जनाउपर आरोपत्र दायर

अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आर्थिक बर्ष ०७६/७७ मा ३७ जनाउपर वीगो दावीसहित मुद्दा दायर गरेको छ । जिल्ला वन कार्यलय रुकुमा ४ जना कर्मचारी, एक जना स्थानीय विकास अधिकारी, डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन प्रमुख भक्त बहादुर लामा, दुई जना तत्कालीन गाविस सचिवलगायत ३७ जनाविरुद्ध मुद्दा दायर गरिएको कार्यालय प्रमुख रिसालले जानकारी दिए ।
उनीहरुबाट १४ करोड ९३ लाख ३५ हजार ६४ रुपैयाँ वीगो दावी गरिएको छ । विभिन्न विषयका १२ वटा उजुरीको छानविनका क्रममा उनीहरु उपर आरोपपत्र दायर गरिएको कार्यालयले जनाएको छ।
५६.७६ प्रतिशत उजुरी फछ्र्यौट

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले आर्थिक बर्ष ०७६/७७ मा ५६.७६ प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । कार्यालय प्रमुख रिसालका अनुसार गत आर्थिक बर्षका १ हजार ८० मुद्दा मध्ये ६१३ वटा मुद्दा फछ्र्यौट गरिएको छ ।
आर्थिक बर्ष ०७६/७७ का कुल मुद्दामध्ये ४११ वटा आर्थिक बर्ष ०७५/७६ बाट जिम्मेवारी सरेर आएका थिए । फछ्र्यौट हुन बाँकी ४६७ मुद्दा चालु आर्थिक बर्षका लागि जिम्मेवारी सरेर आएको उनले बताए । यस्तै गत आर्थिक बर्षका मुद्दा फछ्र्यौटका क्रममा ५९ लाख ५८ हजार ६५५ रुपैयाँ वीगो असुल भएको छ ।
फछ्र्यौट भएका मुद्दामध्ये ३४५ तामेलीमा गएका छन् । यस्तै १०९ वटा एकीकरण भएका छन् भने ७२ वटा लेखी पठाइएको छ । यसैगरी ८३ वटा विस्तृत अनुसन्धान गरिएको छ । आयोगको अर्को निकायमा एउटा मुद्दा पठाइएको छ भने अन्य निकायमा ३ वटा मुद्दा अनुसन्धानका लाग पठाइएको कार्यालयले जनाएको छ ।
आर्थिक बर्ष ०७६/७७ का सबैभन्दा धेरै मुद्दा स्थानीय तहसँग सम्बन्धित थिए । शिक्षासँग सम्बन्धित मुद्दासहित स्थानीय तहबाट मात्र ४५४ वटा मुद्दा दर्ता भएका थिए । यस्तै सबैभन्दा धेरै मुद्दा दर्ता हुने माध्यम चिठीपत्र भएको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयको हालको जिम्मेवारीभित्र कर्णाली प्रदेशका १० वटा जिल्ला पर्दछन् ।