संघीय संसदका दुवै सदनको अधिवेशन आज

काठमाडौं – सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ।सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्।

सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन्।

मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ। यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतले आगामी राजनीतिलाई दिशानिर्देश गर्नेछ।

कोभिड–१९ सङ्क्रमणको जोखिम कायममै रहेको बेला शुरु हुन लागेको अवधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइएको छ।

आजको कार्यसूची

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ।

यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ। शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए।

अधिवेशनको प्रारम्भमा दलका नेताहरुले मन्तव्य व्यक्त गर्ने परम्परा रही आएको छ। यस्तै राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।