बुटवल- कालिका मानवज्ञान माबिले शिक्षकहरुको लागी सुचना प्रविधि तालिम संचालन शुरु गरेको छ ।
कोरोनाको कारणले भौतिक उपस्थितिमा कक्षाहरु संचालन गर्न कठिन भएको अवस्थामा अनलाईन माध्यमबाट प्रभावकारी रुपमा पठनपाठनलाई अघि बढाउन शिक्षकहरुलाई सहजीकरण गर्नको लागि विद्यालयले तालिम आयोजना गरेको हो ।
विद्यालयमा संचालन हुने ३ दिने तालिमको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीले वर्तमान युग प्रविधिको युग भएकोले शिक्षक सुचना प्रविधिको प्रयोगमा सक्षम नहुदासम्म प्रभावकारी शिक्षण हुन् नसक्ने बताए । उनले नियमित कक्षा संचालन भएको बेलामा प्रविधिको प्रयोगले जीवन्त शिक्षण हुने र महामारीको समयमा अनलाईन कक्षा संचालन गर्न पनि पनि सुचना प्रविधिको प्रयोग अत्यावस्यक भएकोले सुचना प्रविधि पुनर्ताजगी तालिम संचालन गरिएको बताए ।
विद्यालयमा प्रधानाध्यापक दिनेश थापाले कालिका मानवज्ञान मावि गुणस्तरीय शिक्षाको केन्द्र र अभिभावकको रोजाई विद्यालय बन्न सफल हुनुमा शिक्षकहरुको दक्षता र शिक्षण मा नविनतम प्रविधिको प्रयोग मुख्य तत्व भएको तथा जस्तोसुकै कठिन परिस्थितिमा पनि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले उपलब्ध सबै शिक्षण प्रविधिको प्रयोग गर्न बताए ।
उनले विद्यालयलाई सुचना प्रविधिमैत्री शिक्षाको हब बनाउनको लागि शिक्षकहरुलाई आइसीटी सम्बन्धि पुनर्ताजकी तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउदै शिक्षण कार्यमा विद्यार्थी, अभिभावक र शिक्षकलाई जोड्न र शिक्षण सिकाई क्रियाकलापलाई अझ प्रभावकारी बनाउन विद्यालयले आफ्नो छुट्टै शिक्षण एप्लिकेशन ल्याउन लागेको जानकारी दिए । मोबाईल एप्लिकेशनको माध्यमबाट अनलाईन कक्षा संचालन गर्न, विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापमा संलग्न गराउन र इन्टरनेटको निरन्तर पहुँचमा नहुने विद्यार्थीलाई समेत पठनपाठनमा जोड्न सहज हुने उनले बताए।
विद्यालयमा शुरु भएको तालिममा प्रशिक्षक लोकराज घिमिरेले शिक्षण विधि, ब्रिटिश काउन्सिलका सफ्टस्किल प्रशिशक ईबराज तिवारीले कक्षा शिक्षणमा सुचना प्रविधिको प्रयोग र कम्युटर प्रशिक्षक सुवास सिंहले अनलाइन कक्षा संचालन सम्बन्धि प्रशिक्षण दिने विद्यालयले जनाएको छ । उक्त तालिममा विद्यालयका आधारभूत तहका ५० जना शिक्षकहरु सहभागी भएका छन् ।