सल्यान – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका सह–ईन्चार्ज प्रकाश ज्वालाले कुनै पनि हालतमा नेकपा नफुट्ने बताएकाछन् । देशलाई बिकास र समृद्धिको अभियानमा लैजानको लागी तत्कालिन नेकपा एमाले र नेकपा माओवादी बीच एकता भएको बताउदैँ उनले नेकपा फुट्छ कि भनेर तरंगित र हतोत्साहित नहुन आग्रह गरेकाछन् । शनिवार सल्यानको शारदा नगरपालिका ६ सापमारामा आयोजित कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले नेकपा फुट्छ कि भनेर शंका गर्ने बेला होईन, तपाई ढुक्क हुनुहोस, कुनै पनि हातलमा पार्टी फुट्दैन’ उनले भने। पार्टी र सरकारले गरेका काम कारवाहीमा केही असन्तुष्टि रहे पनि पार्टीको शिर्ष तहबाट नै समाधान खोजिने उनकाे भनाई छ । ज्वालाले पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको बताए।
‘नेकपा सबै भन्दा ठूलो शक्ति हो, ठूलो पार्टीमा स–साना समस्या देखिनु सामान्य कुरा हो, पार्टीभित्र देखिएको विवाद सामान्य भएकाले विचार र विमर्शका माध्यमबाट समाधान गरिन्छ’ उनले भने। आमकार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई नभएकाले पार्टी नफुट्ने उज्वालाकाे भनाई छ ।
यस्तै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले पार्टीको निति, बिधि र पद्धतिमा रहेर काम गर्न आमकार्यकर्तालाई आग्रह गरे । विकास र समृद्धिको काम गर्ने भनेर जनताले नेकपालाई बिश्वास गरेको बताउदैँ उनले पार्टी र सरकारले गरेका हरेक गतिविधिलाई जनस्तर सम्म लैजान निर्देशन दिए ।
पछिल्लो समय नेकपामा सामान्य बिवाद देखिएको बताउदैँ बस्नेतले नेकपा सबैको साझा पार्टी भएकाले गोलपद्ध भएर पार्टीको निति र बिधि अनुसार समस्याको समाधान गरेर अगाडी बढ्ने बताए। नेकपाको लोकप्रियता देखेर कयौँ मान्छेहरु आत्तिएको बताउदैँ उनले देशमा सुशासन कायम गर्दै देशलाई बिकास र समृद्धिको पथमा हिडाउने पार्टी नेकपा भएको बताए।
कार्यक्रममा नेकपाका प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगी, हरी केसी, शारदा नगर कमिटी अध्यक्ष नविन सिंह भडेँल, जिल्ला कमिटी सदस्य रमेश कुमार गौतम, राम खड्की, प्रमोद श्रेष्ठ, कल्पना सेजवाल, तिलक बिक, मनोज सिंह लगाएतकाले धारणा राखेका थिए ।
कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा नेपाली काँग्रेस छोडेर १ सय २ जनाले नेकपामा प्रवेश गरेको जिल्ला कमिटी सदस्य रमेश कुमार गौतमले जानकारी दिए । नवप्रवेशीहरुलाई ज्वाला र बस्नेतले पार्टीमा स्वागत गरेका थिए ।