पौष्टिक खाना अभियानमार्फत ३९ दिनमा १० हजार बढिलाई खाना बितरण

नेपालगन्ज – माइती नेपालले सञ्चालन गरेको खाना बितरण अभियान कोहलपुरमा जारी छ । अभियानकै क्रममा शनिबार कोहलपुर नगरपालिका वडा.नं.१४ को तीन गाउँ केन्द्रीत संचालन गरिएको छ ।
वडाको ठारा गाँउ, प्रेमपुर र तमोलिपुर लक्षित गरि शनिबारदेखि सञ्चालन भएको खाना बितरण अभियानलाई स्थानीय बिद्यालयका अध्यक्ष लगायतले उद्घाटन गरे ।
आर्थिक अवस्था कमजोर, बन्दाबन्दीका समयमा आर्थिक जोहो गर्न असमर्थ भएकाहरुलाई लक्षित गरिएको अभियानलाई श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय ढोलपुर्वाका अध्यक्ष गुरु शरण खटिक, सोही बिद्यालयका प्रधानाध्यापक सीसराम यादव र स्वयंम सेविका कुष्मा खटिकले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटनमा बाेल्दै आफुहरुको गाउँमा आएर यसरी एक छाक भएपनि तयार खाना बितरण कार्यक्रमले स्थानीयलाई राहत पुग्ने बताए। उनले मानिसलाई हुँदासम्म एक सिता चामलको महत्व नभएपनि समस्या परेपछि त्यसको महत्व आफै बुझ्ने हुनाले यो अभियानले राहत दिनेमा आशावादी रहेको धारणा व्यक्त गरे ।
स्वयंम सेविका कुष्माले काम गरेर जिवीकोपार्जन गर्नेहरुलाई अहिलेको समयमा एक छाक खानाले बाच्न सहयोग पुग्ने बताइन। गाउँघरमा खाना भन्नेबित्तिकै खाना कसले लिन्छ भन्ने हुन्छ, कुष्माले भिनन्, तर अहिले यही खाना आवश्यक परेको छ ।
खाना अभियानलाई स्थानीय रुपमा कोहलपुरकै समाज सेवा नेपालका अध्यक्ष बिनोद थापा लगायतले सहयोग गरेका छन् । जिल्लाको बिभिन्न स्थान पुग्दै ३९ दिनदेखि सञ्चालित अभियान अन्तर्गत शनिबारसम्म १० हजार ५ सय ८० जनालाई खाना बितरण गरिएको माइती नेपाल नेपालगञ्ज संयोजक केशव कोईरालाले जानकारी दिए। अभियानमा सुत्केरी, गर्भवती तथा महिला र बालबालिकाकाे उल्लेख्य सहभागिता रहेको छ ।