भेरी अस्पतालकाे प्रसूति वार्ड सिल

बाँके -भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि भर्ना भएकी एक गर्भवतीमा कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको प्रसूति वार्ड सिल गरिएको छ ।

तीन दिनअघि लिइएको स्वाबको रिपोर्ट शनिबार पोजिटिभ आएपछि प्रसूति वार्ड सिल गर्नुपरेको अस्पतालका कोरोना फोकल पर्सन डा.संकेत कुमार रिसालले जानकारी दिए ।

रुकुम पश्चिमकाे चौरझारी निवासी ती महिला बुधबार अस्पताल भर्ना भएकी थिइन् । बिहीबार शल्यक्रिया गरेर बच्चा निकाल्ने तयारी भइरहेका बेला अचानक उनलाई ज्वरो आएपछि कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब निकालिएको थियो । जसको रिपोर्ट शनिबार मात्र आएकाे अस्पतालले जनाएकाे छ।

ती महिला अस्पतालमा बसेकाले भाइरस संक्रमण अन्यलाई समेत फैलिएको आशंका गरिएकाले प्रसूति वार्ड सेनिटाइज गर्नका लागि मात्र सिल गरिएको डा. रिसालले बताए । ‘स्वाबको रिपोर्ट ढिला आउँदा समस्या भएको हो,’ अस्पतालका कोरोना फोकल पर्सन डा. रिसालले भने,‘ सिल भनेर बन्द नै गरेका छैनौं ,स्थिती सामान्य भएपछि सञ्चालनमा ल्याइने छ ।