मेरो मृत्युमा कसैको दोष छैन प्रहरीले पनि सोही हिसाबले हेर्नुहोला : नायिका जेनीको सुसाइड नोट

काठमाडौं – नायिका जेनीको सुसाइड नोट को मृत्यु अघि लेखेको सुसाइड नोट फेला परेको छ । उहाँको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । बिहीबार राति ८।०० बजे काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा नायिका कुँवरले झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो ।

नायिका कुँवरको शव फेला परेको ठाउँमा प्रहरीले पत्र ९सुसाइड नोट० भेटेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । उक्त पत्रमा ‘मेरो मृत्युमा कसैको दोष छैन । प्रहरीले पनि सोही हिसाबले हेर्नुहोला,’ भनी लेखिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार पत्रमा आत्महत्या गर्नुको कारण लामो समयदेखि बिरामी रहेको, मानसिक अवस्था ठीक नभएको र जति औषधिले पनि केही काम नगरेको उल्लेख छ । डेढ पृष्ठ लामो सुसाइड नोट कुँवर आफैंले लेख्नुभएको हो वा होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यद्यपि प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का उठाएर नायिका जेनी कुँवरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

नायिका जेनी पछिल्लो समय साधुको अवतारमा पशुपति मन्दिर परिसरमा बिताउने गर्नुहुन्थ्यो । पशुपति परिसरमै प्रहरीसँग लफडा गरेर जेनी युट्यूवमा भाइरल हुनुभएको थियो ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा शुरु गर्नुभएको कुँवरले मैदान, जीवनदाता, कानुन, अभिमन्यू, बिन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका थुप्रै चलचित्रमा अभिनय गरिसक्नुभएको थियो ।

प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार प्रहरीले श्रीमान मनबहादुरसँग घटनाबारे सोधपुछ गरेको थियो । उहाँका श्रीमानले प्रहरीलाई दिएको बयानका अनुसार एक वर्षदेखि जेनी डिप्रेसनमा हुनुहुन्थ्यो र औषधि सेवन गर्दै आइरहनुभएको थियो । प्रहरीले जेनीको मृत्युबारे थप अनुसन्धान गरिरहेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

#गोरखापत्र