झापा – कोरोना भाइरसको संक्रमणबाट झापा जिल्लाका चर्चित उद्योगपति तथा समाजसेवी पर्शुराम अग्रवालको निधन भएको छ। उद्योगपति अग्रवालको ६२ वर्षको उमेरमा भारतको सिलगुढीस्थित महाराजा नर्सिङ होममा बुधबार राति ९ बजे निधन भएको हो।
झापा उद्योग वाणिज्य सङ्घका पूर्व-अध्यक्ष समेत रहेका भद्रपुर नगरपालिका – ५ निवासी अग्रवालको स्वास्थ्यमा समस्या आएपछि उनले मेची अस्पताल भद्रपुरमा कोरोनाको पीसीआर परीक्षण गराएका थिए। जेठ ३१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते सिलिगुढी लगिएको थियो। महाराजा नर्सिङ होममा उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको थियो।
फेरि तीन दिनअघि पुनः उनको स्वास्थ्य अवस्था जटिल बन्यो। बुधबार दिउँसो थप स्वास्थ्य जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटर राखेको केही घण्टामै उनको मृत्यु भएको आधिकारिक जानकारी चिकित्सकले परिवारजनलाई गराएका थिए।
उनको शवलाई बिहीबार बिहान ९ बजे घर ल्याइएको थियो। त्यसपछि दाहसंस्कारका लागि मेची नदी किनार लगिएको थियो। उनको दाहसंस्कार धार्मिक परम्पराअनुसार नेपाल स्काउटको टोलीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गरेका थिए। उनको निधनले जिल्लाका उद्योगी व्यवसायी स्तब्ध भएका छन्। उनको निधनले यहाँका व्ययवासीले भद्रपुर बजार दिउँसो १२ बजेसम्म बन्द राखेका थिए।
विसं. २०१६ सालमा जन्मिएका अग्रवाल बाल्यकाल देखि नै भद्रपुरमै बसेर व्यापार व्यवसायमा संलग्न भए। भद्रपुरमा माविमा अध्ययनरत रहेकै बेला सानै उमेरमा उनी भद्रपुरको बजारमा साप्ताहिक हटियाका दिन फुतपातमा कपडा बच्थे।
उनका बुबाले कन्या राइस मिल चलाउँथे। पछि विस्तार व्यवसायी क्षेत्रमा होमिएका उनले घरमै घडी बडीको उद्योग स्थापना गरे। त्यहाँबाट उद्योग क्षेत्रमा प्रवेश गरेका उनको अहिले जिल्लामा ठुलठुला उद्योग धन्दा सञ्चालनमा ल्याएको छ। उनी झापा उद्योग वाणिज्य सङ्घमा दुई कार्यकाल अध्यक्षसमेत भए।
मोहपाल धर्मशालामा समाजसेवा ट्रस्ट, भद्रपुर मारवाडी सङ्घ, भद्रपुर गौशाला, विभिन्न मठमन्दिरमा बनाउने उनले ठुलो सहयोगसँगै भूमिका खेलेका थिए। उनको जिल्लामा मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कुल, निधी गुट्खा उद्योग, घडी बिडी उद्योग, होटेल, सिनेमा हल लगायतको धेरै कारोबार रहेको छ। उनी झापाकै मात्र नभई नेपालकै एक प्रतिष्ठित उद्योगीको रुपमा आफूलाई चिनाउन सफल भएका थिए।