कर्णालीमा कोभिड–१९ विरुद्ध घरधुरीमा आधारित सर्वेक्षण सुरू

देशभरबाट १३ हजार ७ सय रक्त नमूना संकलन गरिने

वीरेन्द्रनगर—कर्णालीमा कोभिड–१९ विरुद्ध घरधुरीमा आधारित सर्वेक्षण सुरु गरिएको छ । स्वास्थ्य संस्थामा आधारित सर्वेक्षणमा सामान्य लक्षण भएका र लक्षण नभएका बिरामीहरु छुट्ने भएकोले घरधुरीमा आधारित सर्वेक्षण सुरु गरिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले २२ असारदेखि सुरु गरेको तथ्यांक संकलन कार्यका लागि १५ देखि १७ असारसम्म गणकहरुलाई तालिम समेत प्रदान गरिएको थियो । सर्वेक्षणमा सहभागी हुने व्यक्तिहरुमा रगतको जाँच गरी कोभिड–१९ विरुद्ध रोग प्रतिरोधी क्षमता विकास भए नभएको पत्ता लगाइनेछ ।

जसबाट रोग प्रतिरोधी क्षमता विकास नभएका व्यक्तिहरुमा आगामी दिनहरुमा आउन सक्ने कोभिड–१९ का नयाँ लहरहरुमा संक्रमण हुनसक्ने जोखिमको मापन हुने र सोको आधारमा पूर्वतयारी गर्नमा सहयोगी हुने अपेक्षा गरिएको छ । सर्वेक्षणमा देशभरबाट एक महिनाभरिमा १३ हजार ७ सय रक्त नमूना संकलन गर्ने लक्ष्य राखिएको छ ।

जसमध्ये कर्णाली प्रदेशमा २ हजार १ सय नमुना संकलन गरिनेछ । इडिसिडीको आयोजना तथा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोगमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा कोभिड–१९ को सेरोप्रिभ्यालेन्स सर्भे सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल अधिकृत डा. शशी कँडेलले प्रस्तुतीकरणसहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले बताए ।

सर्वेक्षणमा सरोकारवाला निकाय तथा आम जनसमुदायको सहयोग पुग्ने अपेक्षा गरिएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा. रविन खड्काले बताए । उनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न साझेदार संस्थाका ३२ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।