बर्दियामा कोरोना जित्नेको संख्या  २ सय २५

गुलरिया – बर्दियामा कोरोना भाइरस जित्नेको संख्या बढ्दो क्रममा छ । जिल्लामा हालसम्म पुष्टि भएका २ सय ६२ संक्रमितमध्ये २ सय २५ जना संक्रमितले कोरोना जितेका छन् । बर्दियामा पुरुष २८ र महिला ९ गरी ३७ जना कोरोना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको जनस्वास्थ्य कार्यालय बर्दियाका निरीक्षक कृष्णगोपाल चौधरीले बताए ।

जिल्लामा २ सय १९ पुरुष र ४३ महिला गरी २ सय ६२ जना कोभिड-१९ संक्रमित भएका छन् । जसमध्ये पुरुष १ सय ९१ जना र महिला ३४ जना गरी २ सय २५ जना संक्रमितले सहजै कोरोना जितेका हुन् ।

चौधरीले भने,’ हालसम्म संक्रमितमा कुनै लक्षण देखिएको छैन । कोरोनाका कारण कसैको मृत्यु भएको छैन ।’ क्वारेन्टाइनमा आश्रय लिइरहेका एकजना आत्महत्या गरेका व्यक्तिको स्वाब परीक्षणका क्रममा भने कोरोना पोजिटिभ पाइएको थियाे । बर्दियामा १३ हजार ४६ आरडीटी र ५ हजार २ सय ८१ गरी १८ हजार ३ सय २७ जनाको कोरोना परीक्षण भएको छ । यसका साथै

नेपाल पत्रकार महासंघ बर्दियाका पूर्वअध्यक्ष एवम् कान्तिपुर दैनिकका बर्दियाकर्मी कमलकुमार पन्थीले कोरोना जितेका छन् । दुईसाता होम आइसोलेसनमा बसेका उनलाई प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य प्रमुखलगायत नेपाल पत्रकार महासंघ बर्दियाको टोलीले घरमै पुगी बधाइ दिएका छन् ।

कुनैपनि लक्षण विना कोरोना जितेकोमा खुशी व्यक्ति गर्दै स्वास्थ्यकर्मीले अझै एक साता घरमै बस्न सुझाव दिएको पत्रकार पन्थीले बताए । कोरोनाबाट कोही पनि डराउन नपर्ने तर सर्तकता सबैले अपनाउनु पर्ने उनको सुझाव छ ।