जिर्ण अवस्थामा रहेको रामजानकी मन्दिरको पुनर्निर्माण शुरु

 

बाँके – बाँके डुडुवा गाउँपालिका वार्ड नं. २ उचुवा बाबा कुटीस्थित जिर्ण अवस्थामा रहेको रामजानकी मन्दिरको पुनर्निर्माण तथा मर्मत सम्भारको कार्य शुरु गरिएको छ । करिब डेढसय वर्ष पुरानो ऐतिहासिक मन्दिरको समयमा भौतिक संरचनालाई मर्मत नगरिएपछि जिर्ण अवस्थामा भत्किएको छ ।
गाउँपालिकाभित्र रहेको ऐतिहासिक मन्दिरलाई धार्मिक तथा पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्देश्यले मन्दिरको पुनर्निर्माण शुरु गरिएको हो । बुधबार मध्यान्हको समय शुभमुर्हुतमा  मन्दिरको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे। उनले मन्दिरको शिलान्यास गर्दै गाउँपालिका भित्र थुप्रै धार्मिक मठ मन्दिर, मस्जिदहरु रहेकाले केही ऐतिहासिक पुराना संरचनाहरुलाई पुनर्निर्माण तथा मर्मत सम्भार गर्न स्थानीय सरकारको जिम्मेवारी अनुरुप पुर्ननिमार्णको कार्य शुरु गरिएको बताए। अध्यक्ष चौधरीले यस्ता धार्मिक केन्द्रहरुको संरक्षण र सम्बद्र्धन गरि पर्यटन क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बजेटको अभावमा सोचे जति गर्न नसकेपनि थोरै बजेटबाट शुरुवात गरेको बताए ।
रामजानकी मन्दिरमा अष्टधातुबाट निर्मित राम, सिता, लक्ष्मण, गणेश, हनुमान, शालीग्रामको ऐतिहासिक मुर्ति रहेको छ । मन्दिरमा भजन किर्तन कोठा, परिक्रमा, गर्भ गिरी, स्टोर कोठाको पुनर्निर्माण शुरु गरिएको छ । बाउण्ड्रीसहित मन्दिर निर्माणका लागि करिब रु एक करोड लाग्ने अनुमान गरिएको छ । अहिले पहिलो चरणमा रु १५ लाखबाट निर्माण थालिएको गाउँपालिकाका प्राविधिक शाखाका मदनेश्वर झाले बताए ।
करिब ५ कठ्ठा बढी जग्गामा रहेको मन्दिरको नाममा डुडुवा ६ मा १४ विगाह पक्का खेती योग्य जमिन समेत रहेको मन्दिरका पुजारी भग्गन महाराजले बताए। मन्दिरमा दशै, रामनवमी, कृष्णा जन्मअष्टमी लगायत अवसरमा भजन किर्तन, भण्डारा, र मेला लाग्ने गर्दछ ।