कोरोना संक्रमितको मृत्युपछि चिकित्सकमाथि हातपात, कारबाहीको माग

विराटनगर-कोशी अस्पतालमा एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालका कार्यरत चिकित्सकमाथि हातपात गरेका छन् । विराटनगर ९ गुद्रिका ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएपछि उनका आफन्तले अस्पतालको आइसोलेसन विभागमा कार्यरत डा. रोहित यादवलाई बुधबार हातपात गरेका हुन् ।

कोरोनाको रिपोर्ट आउनु अगाडि बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले हुलहुज्जत गरी हातपात गरेको डा. यादवले बताए । ‘बिरामीको मृत्यु भएपछि कुरूवा बसेकाहरूले मलाई अपशब्द बोल्दै हातपात गर्न सुरू गरे । अस्पतालमा कार्यरत बिरामीको उपचार गर्न पीपीई सेट लगाएको थिए । त्यहाँबाट भागेर मैले ज्यान जोगाए,’ डा. यादवले कारवाहीको माग राख्दै नेपाल चिकित्सक संघ कोशी अञ्चल शाखा विराटनगरमा दिइएको निवेदनमा उल्लेख छ ।

डा. यादवले बुधबार आफूमाथि हातपात गर्नेलाई कारवाहीको माग राख्दै उजुरी दिएको उनले बताए । उनीहरुले मृतकको शव लैजान जबरजस्ती गरेको र स्वाबको रिपोर्ट नआएसम्म लाश दिन मिल्दैन भनेर अस्पतालले पर्खन आग्रह गर्दा उनीहरुले डाक्टरलाई नै कुटेका हुन् । चिकित्सकमाथि यसरी आक्रमण भएपछि सम्पूर्ण जोखिम लिएर उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीहरुलाई काम गर्न गाह्रो भएको कोशी अस्पतालका फिजिसियन डा. दिपक सिग्देलले बताए ।

‘पीपीई लगाएर बिरामीको उपचारमा खटिएको डाक्टरलाई कुटेपछि कसरी काम गर्ने वातावरण हुन्छ,’ डा.सिग्देलले भने । बुधबारको घटनाले कोशी अस्पतालका चिकित्सकसहित ९/१० जना स्वास्थ्यकर्मी आजैबाट क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको डा. सिग्देलले जानकारी दिए । संक्रमितका आफन्त र उनको हेरचाहमा संलग्नहरुले भिड जम्मा गरेर हातपात गर्दा संक्रमणको जोखिम बढेको हो । त्यस क्रममा मृतकका आफन्तहरुले नाराबाजीसमेत गरेका थिए । पछि कोरोना पोजेटिभ आएको सूचना पाएपछि होहल्ला गर्ने सबै भागेका थिए ।

अस्पतालले भने त्यहाँ उपस्थित सबैजना जोखिममा परेको र उनीहरुको पहिचान गर्नु चुनौतीपूर्ण भएको बताएका छन् । पछिल्लो समय कोशी अस्पतालमा जचाउन आएका बिरामीहरु धेरै संक्रमित पुष्टि हुन थालेको र संक्रमितहरुमा एकैखालको नभएर फरक–फरक लक्षणहरु देखापर्न थालेकोले परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

डा. सिग्देलले पनि प्रत्येक गम्भीर प्रकारका बिरामीको कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने जस्तो अवस्था आएको बताए । उनले भने, ‘एकै प्रकारका लक्षणहरु छैनन्, पखला लागेकामा पनि कोरोना देखिएको छ । आज लिभरको बिरामीमा पनि अरु लक्षण थिएन तर कोरोना देखियो । त्यसैले अब हरेक सिरियस बिरामीको कोरोना परीक्षण गर्नुपर्ने देखिएको छ ।’ जन्डिसका कारण कलेजोमा समस्या बढेपछि दुखाईसहित अस्पतालमा आएका विराटनगरका बिरामीको आइसोलेसनमा उपचार भइरहेको बेला मृत्यु भएको थियो ।हेल्थ आवाज