काठमाडौं – स्वीट्जरल्यान्डको केन्द्रीय बैंक (स्वीस नेसनल बैंक)ले पछिल्लो वार्षिक विवरण सार्वजनिक गरेको छ । जसमा नेपाल, भारत लगायतका मुलुकका नागरिकले गरेको बचतमा वृद्धि भएको देखिन्छ ।
गतसाता सार्वजनिक गरिएको विवरणमा सन् २०२० मा नेपालीको स्वीस बैंकमा अहिलेको विनिमय दरअनुसार ४६ अर्ब ६४ करोड बचत रहेको उल्लेख छ । सन् २०१९ मा स्वीस बैंकमा नेपालीले २२ अर्ब ७३ करोड बचत गरेको विवरण समेत जारी प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२० मा भारतीयले स्वीस बैंकमा २०,७०० करोड भारु बचत गरेको पनि जनाइएको छ । भारतीय बचत १३ वर्ष यताकै उच्च रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । नेपालीको बचत भने सन् २०२० मा दोब्बर भएको देखिन्छ । यो रकम ब्याजसहितको हो ।
स्वीस बैंकले बचतकर्ताको गोपनियता कायम राख्ने भएकाले बचतकर्ताको नाम र कति संख्या भन्ने उल्लेख हुँदैन । वित्तिय जोखिम समेत कम हुने भएकाले बचतकर्ताको आकर्षण स्वीस बैंकमा हुने गरेको छ ।
२२४ देशका नागरिकले स्वीस बैंकमा रकम बचत गरेको देखिन्छ । कतिपय अन्तर्राष्ट्रिय निकायले सम्पत्ति शुद्धीकरणको मामिलामा सघाउन र पारदर्शीमा लचिलो बन्न स्वीस बैंकलाई दबाब दिने गरेका छन् ।