‘हाइप्रोफाइल’मा कोरोना संक्रमण, को-को भए संक्रमित ? 

नेपालका क्रमसः हाइप्रोफाइलहरुमा कोरोना संक्रमण देखिन थालेको छ । जसमा राजनीतिज्ञदेखि सेलिब्रेटी चिकित्सकसम्म रहेका छन् । नेपालमा पहिलो पटक महोत्तरीमा नेपाली सेनाका वरिष्ठ सैनिक अधिकारीलाई कोरोना संक्रमण देखिएको थियो । अहिले पूर्व मन्त्रीदेखि सांसद हुँदैं उद्यमीसम्ममा पनि कोरोना संक्रमण देखिएको छ ।

कोरोना संक्रमण बढ्दैं जाँदा क्रमसः हाइप्रोफाइलहरुमा पनि संक्रमण देखिन थालेका हो ।

१. जीवनबहादुर शाही

२९ असारमा कर्णाली प्रदेशका सांसद जीवनबहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भयो । कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका शाही गत निर्वाचनमा हुम्ला प्रदेशसभा ‘ख’ बाट प्रदेश सांसदमा निर्वाचित भएका हुन ।पूर्व पर्यटनमन्त्रीसमेत रहेका शाही नेपाली कांग्रेसका कर्णालीका प्रभावशाली नेता मानिन्छन् ।

२. प्रदीप यादव

१६ साउनमा जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भयो । मधेशमा चर्चित युवा नेता मानिने यादव पर्सा १ बाट विजयी प्रतिनिधी सभाका सांसद हुन् । उनले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकबाट गराएका थिए । ‘मैले आफ्नो पिसिआर जाँच गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु,’ उनले दुई दिनअघि आफ्नो फेसबुकमा लेखेका छन्, ‘मेरो स्वास्थ्यमा कुनै समस्या देखिएको छैन् । आफूलाई आइसोलेट गरेर अहिले आराममा छु ।’ संसद अधिवेशन अन्त्य भएसँगै वीरगन्ज पुगेका ४० वर्षीय सांसद यादवसँगै उनका सवारी चालक र पिएओलाई पनि कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

३. विजय सरावगी

अहिले कोरोनाको हटस्पट बनिरहेको वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमित हुन पुगेका छन् । १५ साउनमा उनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगन्जबाट एक कार्यक्रममा सहभागी हुन काठमाडौं आएका बेला उनको कोरोना परीक्षण गरिएको थियो । त्यही क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी अहिले काठमाडौंमा आफ्नै घरको आइसोलेसनमा बसिरहेका छन् । मेयर सरावगीसँगै उनका परिवारका केही सदस्यलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनले पनि आफू संक्रमित भएको फेसबुकबाटै जानकारी गराएका थिए ।

४. सुरेश कार्की

३ जेठमा नेपाली सेनाका उपरथी सुरेश कार्कीलाई कोरोना पोजेटिभ देखियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा ३ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । ५२ वर्षीय उनी नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापति हुन् । १२ दिनको उपचारपछि १६ जेठमा उनी सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट कोरोना निको भएर डिस्चार्ज भइसकेका छन् ।

५. डा. ज्ञानेन्द्रमान सिंह कार्की

७ साउनमा वरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्की कोरोना संक्रमित हुन पुगे । कोरोना संक्रमणका बेलामा पनि फ्रन्टलाइनमा रहेर निरन्तर बिरामीको सेवामा खटिएका उनी त्यही क्रममा आफै कोरोना संक्रमित हुन पुगेका हुन् । विराट मेडिकल कलेज तथा नर्सिङ होमका सञ्चालक समेत रहेका ६० वर्षीय डा. कार्कीको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ । उनको नेपालमा पहिलो पटक क्यान्भालिसेन्ट प्लाज्मा थेरापी पद्धतिबाट उपचार गरिएको छ ।

६. कृष्ण गिरी

जनकपुरका चर्चित समाजसेवी तथा उद्यमी कृष्ण गिरीलाई पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ । गिरीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताअघि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । अहिले उनको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । जनकपुरका रामा होटलका सञ्चालन समेत रहेका उनी जनकपुरका पूर्व मेयर समेत हुन् । गिरी नेपाल रेडक्रसका पूर्व जिल्ला अध्यक्ष समेत हुन् । healthaawaj.com बाट ।