पार्टीको आधिकारिकताका लागि यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिने

काठमाडौं – जनता समाजवादी पार्टी जसपा का अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बताउनुभएको छ ।

जसपा सत्ता समीकरणका लागि दुई पक्षमा भएको विवादका कारण जसपा दुई चिरा भएको छ । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्कोको नेतृत्व यादवले गरिरहेका छन् । दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

आधिकारिकताका लागि कानुन व्यवसायीसँग सल्लाह लिँदा पनि निर्वाचन आयोग जान सुझाव दिएका थिए ।
साथै लुम्बिनी प्रदेशमा प्रदेश सभा संसदीय दलको ह्वीपलाई उल्लघंन गरेका चारजना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ ।