सुर्खेत – जाजरकोटको कुशे पाटनमा हावाहुरी चल्दा ७ जना बेपत्ता भएका छन् ।
कुशे गाउँपालिका वडा नम्बर ८ र ९ का सात जना स्थानीय गाई, भैसी र बाख्रालगायत पशुचौपाया पाटन छाड्न गएका बेला पाटनको जलजलाबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिनुभयो।
डीएसपी थापाले भन्नुभयो ‘३१ गते बेलुका स्थानीयहरु पाटनमा पशुचौपाया छाड्न गएका रहेछन्, अत्याधिक हावाहुरीका कारण ७ जना बेपत्ता भएको खबर आएको छ,’ , ‘सँगै गएका एक जनाले हिजो बिहान प्रहरीलाई जानकारी दिए । उनीहरु दुई दिनदेखि बेपत्ता छन् ।’
डीएसपी थापाका अनुसार गाई, भैंसी र भेंडालगायत पशुचौपाया लिएर ११ जना गत जेठ ३१ गते पाटन पुगेका थिए । उनीहरु गत मंगलबारदेखि हावाहुरीमा परेर पाटनको जलजलाबाट बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा कुशे गाउँपालिका–८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २८ वर्षीय चन्द्रा खड्का, २५ वर्षीय विक्रम खड्का, १८ वर्षीय भविन्द्र खड्का, १० वर्षीय धनसरा खड्का, १२ वर्षीय मीमबहादुर खड्का र कुशे–९, का ४० वर्षीय कृष्ण रोकाया रहेका छन् ।
उनीहरुसँगै गएका ११ जनामध्ये सोही ठाउँका २४ वर्षीय भक्तबहादुर रोकाया, १० वर्षीय ईश्वर रोकाया, १४ वर्षीया दुर्गा रोकाया र ५५ वर्षीया गंगा रोकाया घर फर्किएको प्रहरीले बताएको छ ।
बेपत्ता भएकाहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जना प्रहरी र ५ जना हराएका आफन्तहरु गरी १२ जनाको टोली पाटनतर्फ गएको डीएसपी थापाले बताउनुभयो ।