काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफैँलेले चालेको कदमका कारण कमजोर बन्दै गइरहेका छन्। सर्वोच्च अदालत र विपक्षी गठबन्धनविरुद्ध चालेका एकपछि अर्का कदमले ओलीलाई धक्का लागेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का असन्तुष्ट नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र जनता समाजवादी पार्टी ९जसपा०को अध्यक्ष उपेन्द्र यादवबीच ओली विरुद्ध बलियो गठबन्धन बनेको छ।
अर्कातर्फ, पार्टीका नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई बाइपास गर्दै अगाडि बढ्न थालेपछि यतिखेर एमाले पार्टी नै विभाजनको डिलमा पुगेको छ।सरकारले चालेको कदममा अदालतले लगाम लगाएपछि ओलीलाई अर्को धक्का लागेको छ।
ओलीले आफ्नो समूहलाई एक्ल्याएर असंवैधानिक कदम चालेपछि पार्टीले ठूलो हानी व्यहोर्नुपरेको माधव समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्। भन्छिन्, ‘उहाँको कदमले पार्टीलाई ठूलो नोक्सानी परिरहेका छ। उहाँले गल्ती सच्चाएर आत्मालोचना गरी फर्किएमा अहिले निम्तिएका सबै समस्याको हल हुन्छ।’
अदालतले पार्टीलाई ०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने आदेश दिएपछि पार्टी एकताको लागि सकारात्मक सन्देश प्राप्त भएका उनी दाबी गर्छिन्। ‘उहाँले असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन गर्नुभयो। यसअघि सर्वोच्चले असंवैधानिक भनेपछि फेरि उहाँले त्यही कदम चाल्नुभयो,’ उनी भन्छिन्, ‘हामी कहिले पनि एकताको विपक्षीमा रहेनौँ। पार्टीभित्र नेताहरूलाई कारवाही गरेर अघि बढ्न खोज्दाको परिणाम कस्तो भयो, उहाँ आफैले मनन गर्नुपर्ने कुरा हो।’
आफ्नो कदम गलत सावित भइरहेपछि आत्मालोचना गरेर पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीबाट पार्टी अगाडि बढाउनुको विकल्प नभएको उनको भनाइ छ।
ओलीलाई धक्कै-धक्का !
प्रधानमन्त्री ओलीलाई आफैँले चालेको कदमले अप्ठ्यारोमा पारेको छ। सर्वोच्च अदालतले कर्णाली प्रदेशका ४ सांसद् पुनर्बहाली गर्ने र दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने फैसला गरेपछि उनी पुनरावलोकनमा जाने तयारी गरिरहेका छन्।
पुस ५ गते प्रधानमन्त्रीले पहिलोपटक गरेको संसद् विघटन फागुन ११ गते अदालतले बदर गरिदियो। ओलीले संसद् विघटन गरेपछि ओली इतरको गठबन्धन बलियो बन्दै गइरह्यो।
संसद् पुनःस्थापना पछि सांसदमा नेता नेपाल पक्षको अनुपस्थितिका कारण ओलीले विश्वासको मत प्राप्त गर्न सकेनन्। दुईतिहाइको बहुमतप्राप्त सरकारको नेतृत्व गरेका ओली अहिले आफ्नो सत्ता जोगाउन अर्काको भर पर्नुपरेको छ। नेता नेपाल पक्षलाई रिझाउन नसक्दा राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती र लुम्बिनीमा ओली पक्षका नेता पराजित भए।
नेपाल पक्षकै कारण नेपालको संविधानको धारा ७५ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बन्न ओली असफल भए। नेता नेपाल समूहले विपक्षी गठबन्धनसँग मिलेर कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको छ। ओलीले पनि आफ्नो बहुमतको दाबी गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको प्रस्ताव नपुगेको भन्दै सरकारको सिफारिसमा जेठ ८ गते दोस्रो पटक संसद् विघटन गरेर निर्वाचनको मिति तोकिन्। सो कदमको चौतर्फी आलोचना भइरह्यो। हाल सो विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
नेता नेपाल पक्षकै कारणले माओवादी केन्द्रले नेतृत्व गरेको कर्णाली र सुदूरपश्चिम प्रदेश सरकार जोगियो। जहाँ एमालेको एकल सरकार बन्ने सम्भावना छ। कर्णालीमा स्पष्ट बहुमत हुँदा हुँदै एमालेको हातबाट फुत्किएको ओली पक्षका नेता विष्णु रिजाल बताउँछन्।
उनले फेसबुकमा लेखेका छन्, ुप्रदेशसभामा एमालेको स्पष्ट बहुमत छ। पार्टी मिल्नासाथ तुरुन्त एकल सरकार बनिहाल्छ। हामी सबैलाई एकपटक लडेपछि धुलो टक्टक्याएर उठ्ने मौका मिलेको छ।’
सांसदरूको मर्यादा र इमानमा उठेको प्रश्नहरूले लोकतन्त्रलाई तुल्याएको उनको भनाइ छ। लोकतान्त्रिक अभ्यासलाई सहज र स्वस्थ बनाएर मात्रै लोकतन्त्रलाई बनाउन सकिने उनको तर्क छ। यस्तै, गण्डकी प्रदेशमा पनि विपक्षी गठबन्धनले सत्ता हत्यायो। प्रदेशमा एकपछि अर्को असफलता प्राप्त गरिरहेका ओलीविरुद्ध प्रदेश १ र लुम्बिनीमा समेत विपक्षी गठबन्धनको नयाँ सरकार गठनको विकल्पबारे छलफल भइरहेको छ।
बागमती प्रदेशमा भने मुख्यमन्त्री डोरमणि पौडेलको चलाखीको कारण तत्काललाई सत्ता जोगिएको छ। मुख्यमन्त्री पौडेल र नेता नेपाल समूहकी नेतृ अष्टलक्ष्मी शाक्यबीच सहमति बनेपछि बागमती प्रदेशमा एकमत देखिएको हो।