सुदूरपश्चिममा भीम रावलको शक्ति, ओली पक्ष पटक–पटक असफल

‘माओवादी छाडेका एमाले नेता लेखराजको प्रभाव शून्य’

धनगढी – मंगलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले एमालेको माधवकुमार नेपाल पक्षको साथ पाएपछि विश्वासको मत पाए। पार्टी स्थायी कमिटीको निर्णय लत्याउँदै नेपाल समूहका १७ सांसदले ‘फ्लोर क्रस’ गरी माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएपछि भट्टले विश्वासको मत पाएका हुन्।

मुख्यमन्त्री भट्टले प्रदेशसभामा मंगलबार भएको मतदानमा एमालेका १७ र माओवादी केन्द्रका १३ गरी ३० सांसदको विश्वासको मत पाए।

५२ सदस्यीय प्रदेशसभामा एमालेका २५, माओवादी केन्द्रका १३, कांग्रेसका १२ र जसपाका दुई जना प्रदेश सांसद छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको भन्दै माओवादी केन्द्रले तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरालाई सांसद पदबाट हटाएको थियो।

कांग्रेसका सांसद मतदानमा सहभागी भएनन् भने जसपाले विपक्षमा मतदान गरेको थियो।

एमालेबाट सभामुख अर्जुनबहादुर थापाबाहेक २४ सांसदमध्ये १७ जनाले भट्टको पक्षमा मतदान गरेका हुन्। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका पठानसिंह बोहरा, गेल्बु बोहरा, लीलाधर भट्ट, माया तामाङ बोहरा, रतन थापा, नेपालु चौधरी र बलदेव रेग्मीले मात्रै विपक्षमा मतदान गरे।

ओली समूहतिर आउने आँकलन गरिएका तारा लामा तामाङ र कुलवीर चौधरी पनि सरकारकै पक्षमा उभिए। एमाले संसदीय दलले केही दिनअघि मात्रै तामाङलाई प्रमुख सचेतक पदबाट हटाएको थियो। नेपाल समूहमा पनि स्पष्ट नखुलेको भन्दै दलका नेता प्रकाशबहादुर शाहले उनलाई पदमुक्त गरेका हुन्। नेपाल समूहमा रहेका बलदेव रेग्मी भने ओली समूहमा लागेका छन्।

ओली पक्ष पटक–पटक असफल

सुदूरपश्चिम प्रदेशमा आफ्नो पक्षमा समीकरण बनाउन ओली पक्ष पटक–पटक असफल रह्यो। भीम रावललाई प्रदेश इन्चार्जबाट हटाएर लेखराज भट्टलाई इन्चार्ज बनाइयो। प्रदेश इन्चार्ज भट्ट र अध्यक्ष कर्णबहादुर थापाले नेपाल समूह विभाजन गरी समीकरण बनाउन पटक–पटक प्रयास गरे पनि असफल रहे।

प्रदेश कमिटीले समीकरण परिवर्तन गर्न नसकेपछि पार्टीको स्थायी कमिटी बैठकले नै प्रदेश सरकारको समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो।

तर, बहुमत संख्यामा रहेको नेपाल समूहले स्थायी कमिटीको निर्णयलाई चुनौती दिँदै सुदूरपश्चिमको संसदीय दलले जेठ १० गते समर्थन फिर्ता नलिने निर्णय गर्‍यो। कोभिड महामारीका बेला वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनु जायज नहुने तर्क संसदीय दलको थियो। माओवादी नेतृत्वको सुदूरपश्चिम सरकार ढलाउन प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गरेको यो पहिलो प्रयास थियो। तर, पहिलो प्रयास नै विफल भयो।

यसैबीच १४ जेठमा एमालेको नेपाल समूहले ओली समूहलाई चिढाउने गरी उल्टै ११ सदस्यीय मन्त्रिमण्डल विस्तार गरी त्यसमा नेपाल समूहका सांसदहरूलाई अवसर दियो। अहिले प्रदेशसभामा एमालेका ८ जना मन्त्री छन्। सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पूर्णा जोशी नियुक्त भए।

यस्तै, एमालेकै तर्फबाट चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदले राज्यमन्त्रीको शपथग्रहण गरे। तत्कालीन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई भने संसदीय दलले फिर्ता बोलाएको थियो।

ओली पक्षको प्रदेश कमिटी र स्थायी कमिटीको निर्णय नमानेका उनीहरूले पनि संसदीय दलको निर्णय स्विकार्दै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएर फिर्ता भए।

स्थायी कमिटी र प्रदेश कमिटीमा समर्थन फिर्ता लिने निर्णय भएको अवस्थामा एमालेकै तर्फबाट मन्त्री थपिएपछि ओलीपक्ष फेरि आफ्नो रणनीतिमा असफल भयो। १५ जेठमा ओली पक्षको प्रदेश कमिटीले नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई स्पष्टीकरण सोध्यो। तर, स्पष्टीकरणको जवाफ कसैले पनि बुझाएनन्। त्यसपछि ओली पक्षको प्रदेश कमिटीले एमालेको तर्फबाट मन्त्री भएका सबैलाई साधारण सदस्यबाट निष्कासन गर्न सिफारिस गरेको छ।

निष्कासन गर्न सिफारिस गरेकै बेला स्थायी कमिटी र प्रदेश कमिटीको निर्णयविपरीत संसदीय दलले निर्णय गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधे। स्पष्टीकरणमा पार्टीको विधानविपरीत गुटबन्दी र षड्यन्त्र गरेको, निष्ठाबाट च्यूत भएको, विपक्षीसँग साठगाँठ गरेको, गोपनीयता भंग गरेकोलगायतका आरोप लगाइएको थियो। तर, नेता शाहले जवाफ बुझाउँदै सबै आरोप निराधार भएको बताए।

माओवादी छाडेका एमाले नेता लेखराजको प्रभाव शून्य

लेखराज भट्ट माओवादी केन्द्रमै हुँदा सुदूरपश्चिम प्रदेशसभामा माओवादीका १४ जना प्रदेशसभा सदस्य थिए। सुदूरपश्चिम माओवादीमा भट्ट एक नम्बर वरीयतामा थिए। एमालेमा गएपछि भट्टले साथमा एक जना मात्रै प्रदेशसभा सदस्यलाई लैजान सके।

उनी हुन्, पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा। तर, बोहराले पार्टी परित्याग गरेसँगै उनको सांसद पद पनि गुमिसकेको छ। अहिले लेखराज भट्ट सुदूरपश्चिम प्रदेशमा एमाले ओली पक्षको एक नम्बर वरीयताका नेता हुन्। माओवादी छोड्दा आफूसँग प्रदेशसभा सदस्य लैजान नसकेका लेखराजले एमालेभित्र पनि राम्रो प्रभाव बनाउन सकेका छैनन्।

एमालेका एक प्रदेशसभा सदस्यले भने, ‘१४ जना प्रदेशसभा सदस्य रहेको माओवादीबाट एकजना प्रदेशसभा सदस्यलाई मात्र आफूसँग लैजान सकेका लेखराजको संगठनमा कमजोर प्रभाव थियो भन्ने पुष्टि हुन्छ। एमाले सुदूरपश्चिममा भीम रावलको दबदबा छ। लेखराजले प्रभाव देखाउनै सकेनन्। ओली पक्ष सुदूरपश्चिम प्रदेशमा पटकपटक असफल हुनुमा भीम रावलको दबदबा र लेखराजको प्रभाव नदेखिनु हो।’

भीम रावलको प्रभाव

एमालेमा को कति शक्तिशाली छ भन्ने अहिलेको शक्तिसंघर्षले देखाएको छ। सुदूरपश्चिममा केपी शर्मा ओलीको भन्दा बढी भीम रावलको प्रभाव रहेको नेता तथा कार्यकर्ताको बुझाइ छ। रावल नेकपा एमालेबाट निष्कासित भएका नेता हुन्। तर, उनको एमालेभित्र बलियो पकड रहेको छ।

रावलको प्रभाव मङ्गलबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदा देखिएको छ। सुदूरपश्चिममा एमालेका २५ सांसदमध्ये १७ जनाले पार्टी ह्वीप उल्लंघन गरेका थिए। त्यसमा रावलकै मुख्य भूमिका रहेको बुझिएको छ। थाहाखबर ।