राउटे बस्ती सिल , पोसाक तथा सादा पोसाकमा प्रहरी परीचालन

सुर्खेत – राउटे बस्तीमा जोसुकै व्यक्तिले सजिलै प्रवेश गर्न नपाउने भएका छन् । बस्तीमा असुरक्षा बढेपछि जिल्ला प्रशासन कार्यालयल सुर्खेतले राउटे बस्ती सिल गर्ने निर्णय गरेको हो।

यसभन्दा पहिले जस्तो सजिलै राउटे बस्तीमा बाहिरको व्यक्तिलाई प्रवेशमा प्रतिबन्ध लगाइएको छ।सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालका अनुसार असुरक्षा बढेपछि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिने उद्देश्यले सुरक्षा व्यवस्था कडा पारीएको हो ।

केही दिन अघिमात्रै राउटे दुई चेली यौन दुव्र्यवहारमा परेपछि प्रशासनको ध्यान गएको हो । यसभन्दा पहिले टिकटक बनाउने बाहानामा राउटे बस्तीमा जो सुकै व्यक्तिको प्रवेश र टिकटक बनाउने दवाबले राउटेहरु असुरक्षीत बनेका थिए ।

सोही कुरालाई ध्यानमा राखी अन्तत प्रशासनले सुरक्षा व्यवस्था सहित राउटे बस्तीमा प्रवेश निषेधको निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार सुरक्षा व्यवस्थालाई बलियो बनाउन राउटे बस्तीमा पोसाक तथा सादा पोसाक सहितका प्रहरी परीचालन गरिएको छ । भने राउटे चेलीलाइ  यौन दुव्र्यवहार गर्नेलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

हालका लागि राउटे बस्ती सिल गरेर २२ जना प्रहरी सुरक्षामा खटाइएको जिल्ला प्रशासनले जानकारी दिएको छ । साथै राउटे युवतीमाथि भएको यौन दुव्र्यवहारको घटना राउटे समुदायसम्म पुग्न नदिने उद्देश्यले पनि बस्ती सिल गरिएको हो। बस्तीमा अन्य समुदायका मानिसले घटनाबारे जानकारी पुर्याउन सक्ने सम्भावना बढेपछि बस्ती सिल नै गर्नु परेको प्रशासनले जनाएको छ।

घटनाको जानकारी पाए पीडित युवतीलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना छ। यही कारण आज (सोमबार) बिहानदेखि राउटे बस्तीमा कसैलाई प्रवेश गर्न नदिन प्रहरी खटाइएको हो। आइतबार मात्रै राउटे मुखियासँगै राउटे समुदायले सुरक्षा माग गरेका थिए।​ केही दिन यतादेखि राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्।