बोको हरामका नेता मारिएको विपक्षी विद्रोहीको दाबी

काठमाडौं ‍- नाइजेरियाको सशस्त्र समुह बोको हरामका नेता अबुबकर शेकाउको मृत्यु भएको विपक्षी विद्रोही समूहले एक अडियो सन्देशमा दाबी गरेका छन् । समाचार एजेन्सीहरुले प्राप्त गरेको अडियो रेकर्डिङमा इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्त (इसवाप) ले अबुबकरले दुई समूहबीचको भिडन्तपछि आफै विस्फोटक पदार्थ पड्काएर आत्महत्या गरेको बताएको छ ।

अबुबकरको मृत्युको खबर यसअघि पनि आउने गरेका छन् । गत महिनापनि उनको मृत्यु भएको बताइएको थियो भने त्यसअघि पनि बारम्बार उनको मृत्युको खबरहरु आइरहेका छन् । बोको हराम वा नाइजेरियाको सरकारले उनको मृत्युको खबरलाई पुष्टि गरेको छैन ।

एउटा अडियो रेकर्डिङमा कथितरुपमा इसवापका नेता अबु मुसाब अल बरनावीले अबुबकरले विस्फोट पदार्थ पड्काएर आत्महत्या गरेको उल्लेख गरेका छन् । इसवापका लडाकुहरुले अबुबकरलाई घेराबन्दी गरेर आत्मसमर्पण गरेर आफ्नो समूहमा आबद्ध हुने मौका दिएका थिए । ‘तर अबुबकरले पृथ्वीमा अपमानित हुन मानेनन् बरु जीवनोपरान्त अपमानित हुन रोजे,’ अडियोमा भनिएको छ ।

गत महिना अबुबकरको भिडन्तको क्रममा मृत्यु भएको खबर बाहिर आएपछि नाइजेरियाको सेनाले यसबारे छानबिन गर्ने बताएको थियो । इसवापले उत्तर पूर्वी नाइजेरियामा रहेको बोको हरामको ठेगानामा आक्रमण गर्दा अबुबकर मारिएको बताइएको थियो । उनी धेरै पटक मारिएको खबर आएपनि पछि उनी जीवितै रहेको पाइएको थियो ।

बोको हरामका संस्थापक नेताको सन् २००९ मा प्रहरी हिरासतमा मृत्यु भएपछि अबुबकरले संगठनको नेतृत्व सम्हालेका थिए । उनको नेतृत्वमा बोको हरामले बम हमलादेखि अपहरणलगायत हिंसात्मक गतिविधि गर्दै आइरहेको छ । सन् २०१४ देखि उनले इस्लामिक राज्य स्थापना गर्ने अभियानमा लागेका छन् । सन् २०१४ मा बोर्नो राज्यका सयौँ छात्राहरुलाई अपहरण गरेपछि यो समूहले चर्चा कमाएको थियो । यसमध्ये कयौँ छात्रा अझै वेपत्ता रहेका छन् ।

बीबीसी ।