उपचार गराउँदा पैसा सकिएपछि अस्पतालबाट निकालिए एक महिने बालक

पोखरा । पैसा बिना सर्वसाधारण नागरिकको उपचार सम्भव छैन भन्ने ज्वलन्त उदाहरण पोखराको मणिपाल शिक्षण अस्पतालमा भएको छ ।

एक सातादेखि अस्पतालमै उपचाररत बिरामी बालकलाई पैसा सकिएपछि निकालिदिएको छ ।रोल्पाकी कामना बुढामगर बैशाख २३ गते मणिपाल शिक्षण अस्पतालमा नै सुत्केरी भइन् । उनले छोरा जन्माइन् । आमा र बच्चाको स्वास्थ्य राम्रो थियो । एक सातापछि उनीहरु घर फर्किए । घर अर्थात् पोखरा ११ फूलवारीस्थित कोठामा गएर बस्दै गर्दा बच्चालाई जण्डिस र न्यूमोनिया भयो । सात दिनपछि उनीहरु पुनः मणिपालमा पुगे ।

बच्चालाई सात दिनदेखि मणिपालमै राखेर उपचार जारी थियो । यस क्रममा बच्चा, बच्चाकी आमा कामना र बाबु जानबहादुर बुढामगरमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि कामना र जानबहादुरको दम्पती छाँगाबाट खसेजस्तै भए । मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका उनीहरुसँग भएको सबै रकम बच्चाको उपचारमा सकिएको थियो । थप उपचार गर्न सक्ने अवस्था नै थिएन, त्यसैमाथि कोरोना संक्रमण । जानबहादुरले लकडाउन शुरु भएसँगै काम गर्न पाएका थिएनन् ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले ९० हजार रुपैयाँ डिपोजिट गर्न र दैनिक २५ हजार रुपैयाँ लाग्ने भएकाले त्यही अनुसार रकम जोहो गर्न जानबहादुरलाई भन्यो । साथमा खाना खर्च पनि व्यवस्था गर्न भनिएको थियो । जानबहादुर रन्थनिंदै पैसा नभएको जानकारी अस्पताललाई गराए । अस्पतालले त्यसो भए अन्यत्रै जान भन्यो । जानबहादुरलाई अर्को तनाव ।

त्यसपछि उनले नजिकका केही व्यक्तिलाई फोन सम्पर्क गरे । त्यसपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बेड मिल्यो । उनीहरु तीन जना नै बिहीबार अपरान्ह ४ बजे अस्पताल पुगेर भर्ना भए । पक्षे अस्पतालमा उपचारका लागि सबै उपचार निःशुल्क हुने भन्ने उनले जानकारी पाए । त्यसपछि बल्ल उनले लामो स्वास फेरे ।

यस विषयमा मणिपाल शिक्षण अस्पतालसंग सम्पर्क गर्दा सोधपुछले केही जानकारी नभएको बतायो । अस्पतालका प्रमुख सम्पर्कमा आउन चाहेनन् ।