निर्वाचन आयोगमा माधव नेपाल निकट विद्यार्थी नेताले दिए नेकपा एकीकृत दर्ताका लागि निवेदन

काठमाडौं – झलनाथ खनाल – माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।

पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गर्दै आयोगमा निवेदन परेको हो।

संखुवासभाका राई नेकपाको विद्यार्थी भातृ संगठन अनेरास्वियूका सचिवालय सदस्य थिए। उक्त पार्टीको उपाध्यक्ष कास्कीकी कल्पना गुरूङ र महासचिवमा काभ्रेका विनोद कुमार खुलाल छन्। सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशिल खनाल रहेका छन्।

राईले दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

यसअघि कलम चिन्हबाट गत जेठ ६ गते बागमती प्रदेश अन्यतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा संघीयताविज्ञ खिमलाल देवकोटा निर्वाचित भएका थिए।

उनले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराएका थिए।

पछिल्लो समय नेकपा एमालेभित्र बढेको विवादलाई यो उपनिर्वाचनले झन् तिक्कता बढाएको थियो। एमाले भित्रको विवाद बढेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ट नेता झलनाथ खनालमाधव नेपाल सहित ११ जनालाई स्पष्टिकरण सोधेका छन्।

त्यस्तै निर्वाचन आयोगमा नेकपा नाममा अर्को दल पनि दर्ताका लागि निवेदन परेको छ। नेकपा लोकतान्त्रिक नामक दलले निवेदन दिए पनि आयोगले विधान संशोधनका लागि फिर्ता पठाइदिएको छ। उक्त दलले गोलाकार भित्र पाँचकुने तारा चुनाव चिन्ह राख्न प्रस्ताव गरेको थियो।

 

#setopati