देवकीकाे मुक्तक संग्रह ‘छुटेका सपनाहरू’

साहित्यकार देवकी तिमल्सिना ‘समीक्षा’ को मुक्तक संग्रह ‘छुटेका सपनाहरू’ सार्वजनिक गरिएको छ । सर्केगाड गाउँपालिका–८ रादेउ हुम्लाकी तिमल्सिनाले बिहीवार एक कार्यक्रमकाबीच दोस्रो कृतिका रूपमा मुक्तक संग्रह ‘छुटेका सपनाहरू’ सार्वजनिक गरेकी हुन् । यसअघि उनले ‘योद्धाको सपना’ कविता संग्रह प्रकाशित गरेकी थिइन् । राजनीतिक तथा सामाजिक विकृति र विसङ्गति उजागर गर्ने उक्त कृति सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठान हुुम्लाले प्रकाशन गरेको हो ।

मुक्तक संग्रहको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले बिमोचन गरेका हुन् । उनले कला र साहित्यमार्फत समाज परिवर्तनमा यस मुक्तक संग्रहले महत्वपूर्ण भूूमिका खेल्ने बताए । कलमका माध्यमबाट कर्णालीको यथार्थलाई छर्लङ्ग पारेर परिवर्तनमा योगदान गरेको भन्दै उनले तिमल्सिनाको प्रशंसा गरे । मन्त्री रावलले कला र साहित्यको संरक्षणमा प्रदेश सरकार प्रतिवद्ध रहेको समेत उल्लेख गरेका थिए ।

यस्तै कार्यक्रममा वाङ्मय चौतारी नेपालका अध्यक्ष गणेशभक्त गौतमले उक्त मुक्तक संग्रहको समीक्षा गर्दै यस कृतिले देशको सामाजिक र राजनीतिक विकृति उजागर गर्नुका साथै जनताका सपना पूरा गर्न नेतृत्वलाई झक्झकाएको टिप्पणी गरे । कृतिले समाज, परिवेश, देश, काल र परिस्थितिको यथार्थ चित्रण गरेको उनको भनाइ छ ।

कृतिका सर्जक तिमल्सिनाले समाज परिवर्तनका लागि साहित्यमार्फत कलम चलाएको बताइन् । साहित्यमार्फत कर्णालीका लागि केही योगदान गर्ने उद्देश्यले कृतिहरूको रचना गरिरहेको उनको आशय थियो । विमोचन कार्यक्रममा सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानका अध्यक्ष डा. दीपेन्द्र रोकायले ‘अधुरा सपनाहरू’लाई पूरा गर्ने जिम्मेवारी सबैको भएको बताए । उनले विचारले नै समाजलाई परिवर्तन गर्ने भएकाले यस मुक्तक संग्रहले समाज परिर्वतनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।