सिटी बसपार्क भदौदेखि सञ्चालन

सुर्खेत- वीरेन्द्रनगरस्थित नवनिर्मित (सिटी) बसपार्क भदौदेखि सञ्चालन ल्याइने भएकोे छ । निर्माण सम्पन्न भएको एक वर्षपछि बसपार्क सञ्चालनमा आउन लागेको हो । निर्माण कार्य एक वर्षअघि नै सम्पन्न भए पनि नगरपालिका र व्यवसायीबीच विवाद भएपछि बसपार्क सञ्चालनमा ढिलाइ भएको हो । वीरेन्द्रनगर नगरपालिकाले विवाद सुल्झिएको बताउँदै आगामी भदौ एक गतेदेखि बसपार्क सञ्चालन गर्ने गरी तयारी थालेको जनाएको छ । बुधवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पनि बसपार्क सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरेको थियो ।

बसपार्क सञ्चालनका लागि गत मंसिर १६ गते नगरपालिकाले टेण्डर आह्वान गरेको थियो । बसपार्कमा पहिलेदेखि नै व्यवसाय गर्दै आएका ५४ जना व्यवसायीले उच्च अदालत सुर्खेतमा गत पुस १३ गते आफूहरूलाई प्राथमिकता नदिएर पूर्वसहमति विपरीत टेण्डर गरिएको भन्दै रद्द गर्न रिट दायर गरेका थिए । नगरपालिका र व्यवसायीबीच पुरानो बसपार्कमा व्यापार गरिरहेकालाई बसपार्क निर्माणपछि व्यापार–व्यवसाय गर्न दिने सहमति भएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि उनीहरूले अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमाथि गत फागुन अन्तिमतिर उच्च अदालतले सुनाइ गर्दै प्रतिस्पर्धा गराउने तर पूराना व्यवसायीलाई प्राथमिकता दिनु भनी सुनाइ गरेपछि विवाद सुुल्झिएको हो । यो सुनुवाइसँगै बसपार्क सञ्चालन गर्न बाटो खुलेको हो ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टिकाराम ढकालले भदौदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिए । उनले अहिले बसपार्कमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर बनाइएकाले उक्त आइसोलेसन सेन्टरलाई अस्पतालसँग समन्वय गरेर व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिए । उनले भने, ‘हामीले चैतदेखि नै बसपार्क सञ्चालनको तयारी गरेका थियौं तर लकडाउन भएपछि रोकिएको थियो । अब भदौ १ गतेदेखि सञ्चालन हुन्छ ।’ उनका अनुसार टेण्डर आह्वान गर्दा दुई वटा कम्पनीको प्रतिस्पर्धा भएको थियो ।

जसमध्ये पीआर कन्स्ट्रक्सनलाई ठेक्का परेको थियो । अब दुुई–तीन दिनमा उक्त कन्स्ट्रक्सनसँग सम्झौता हुने र बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मा दिने तयारी गरिएको नगरपालिकाले जनाएको छ । उक्त कम्पनीले बसपार्क सञ्चालन गरे वापत मासिक २७ लाख ५६ हजार एक सय रूपैयाँ नगरपालिकालाई बुझाउनुुपर्ने छ । बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउण्टर, शौचालय, पार्किङ्गस्थल निर्माण गरिएको छ । बसपार्क सात करोड ४४ लाख लागतमा निर्माण भएको हो ।

२०६८ सालदेखि बसपार्क निर्माण सुुरु भएको थियो । बीचमा काम राम्रोसँग अघि नबढेपछि २०७२ सालदेखि पुुनः बसपार्कको निर्माण कार्य सुरु गरिएको थियो । लामो समय बितिसक्दा पनि बसपार्क सञ्चालनमा नआउँदा सार्वजनिक यातायातका साधन पार्किङ्गको समस्या झेल्नु परेको यातायात व्यवसायीहरूले बताएका छन् हाल मंगलगढीस्थित साँघुरो ठाउँमा अस्थायी बसपार्क सञ्चालन हुँदै आएको छ ।