संसद विघटन र चुनाव घोषणा स्वागतयोग्य स् राप्रपा सांसद लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका एकमात्र सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताएका छन् ।

लिङ्देनले महामारीका बेला निर्वाचन सम्पन्न गर्न प्राविधिक कठिनाई भएपनि यो उपयुक्त कदम भएको उल्लेख गरे ।

प्रधानमन्त्री र राष्टपतिको कदमबारे पार्टीले आधिकारिक धारणा नबनाएको भएपनि अहिले प्रतिनिधिसभाले संसदको रुपमा काम गर्न नसकिरहेको अवस्थामा र सरकार बनाउन कसैले बहुमत पु¥याउँन नसकिरहेको अवस्थामा निर्वाचन घोषणा स्वभाविक भएको उनको भनाई छ ।

उनले भने–‘अहिलेको संसदले प्रभावकारी ढंगले काम नगरेको अवस्थामा र सरकारका लागि कसैले बहुमत नजुटाएको अवस्थामा यो अवश्यम्भावी थियो । विधी प्रक्रियाको कुरा एउटा ठाउँमा छ तर अहिले संसदको जुन विकृत अवस्था देखिएको थियो, अब नयाँ प्रणालीका लागि निर्वाचनमा जानुपर्छ ।’

उनले अहिले भइरहेको महामारीको परिस्थितिमा निर्वाचन गर्न केही जटिलताहरू हुने समेत बताए । उनले पहिलो प्राथमिकता महामारीलाई दिनुपर्ने भएकोले निर्वाचनको परिस्थिति राम्रो नभएपनि अहिलेको राजनीतिक निकाय चुनाव वाहेक अरु हुन नसक्ने उल्लेख गरे ।