राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिगमनको दोस्रो शृङ्खला सुरु : उपेन्द्र यादव

काठमाडौं – जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनको दोस्रो शृङ्खला सुरु गरेको आरोप लगाएका छन् ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिगमनको पहिलो कदम चालेको तर त्यसलाई सर्वोच्च अदालतले सच्याएको स्मरण गर्दै उनले अहिले त्यसैको शृङ्खला अनुसार अर्को कदम चाल्ने काम भएको बताए ।

राष्ट्रपति भण्डारीले गएराति संवैधानिक व्यवस्थामाथि धावा बोल्दै देशलाई प्रतिगमनतर्फ धकेलेको उल्लेख गर्दै अध्यक्ष यादवले यसको विरुद्धमा अग्रगामी शक्तिहरु एक भएर उभिने बताए ।

उनले प्रतिगमनकारीलाई साथ दिने व्यक्तिहरुलाई पनि जनताले पहिचान गरिसकेको भन्दै जनताले त्यसको हिसाब किताब लिने बताए । प्रधानमन्त्री ओलीले सुरुदेखि नै संघीयता र गणतन्त्र नरुचाएको आरोप लगाउँदै उनले अहिले आएर त्यसलाई प्रमाणित गर्ने दिशामा रहेको बताए ।

राष्ट्रपतिलाई साथमा लिएर ओली संघीयता र गणतन्त्रलाई समाप्त गर्ने बाटोमा हिँडेको दावी गर्दै अध्यक्ष यादवले यसका लागि जनताले पुनः संघर्ष गर्ने प्रतिकृया दिए ।

राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदमको बारेमा पार्टीमा छलफल हुने र कसरी अगाडि बढ्ने बारेमा चाँडै नै निर्णय लिने उनले बताए ।

आज जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको छ । तर सो बैठकमा जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षको सहभागिता रहने छैन । अध्यक्ष ठाकुरले हिजै विज्ञप्ति जारी गरेर कार्यकारिणी समिति बैठक स्थगित भएको जानकारी गराएका थिए । फेरि अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरेर बैठक स्थगित नभएको र निर्धारित समयमा बैठक हुने जानकारी गराएका थिए । – रातोपाटी ।