संसद विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईं लड्ने काँग्रेसको निर्णय

फाइल तस्विर

काठमाडौं – प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटनको घटनालाई नेपाली काँग्रेसले असंवैधानिक ठहर गर्दै राजनीतिक र कानुनी लडाईं लड्ने जनाएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पुर्व पदाधिकारी बैठकले यस्तो निश्कर्ष निकालेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘यो कदम घोर असंवैधानिक र अलोकतान्त्रिक हो । यसमा काँग्रेसले अरु दलहरूसँग पनि सहकार्य गर्दै राजनीतिक प्रतिरोध गर्छ’, डा. महतले बैठकपछि सञ्चारकर्मीसँग भने, ‘न्यायिक लडाई पनि लड्छौ ।’ काँग्रेसले नेपालको संविधान र लोकतान्त्रिक मूल्य मान्यतालाई छियाछिया पार्ने काममा प्रधानमन्त्री र राष्ट्रपति नै लागेको समेत जनाएको छ ।

‘मध्यरातमा नेपाली जनता सुतिरहेको बेलामा यस्तो षडयन्त्र भएको छ । हामीले विपक्षी दलको नेताको नेतृत्वमा हस्ताक्षरसहित बहुमत पुर्याएर सरकार गठन गर्न गरेको दाबी लत्याइएको छ’, काँग्रेस नेता महतको भनाइ छ ।