काठमाडौं – नेकपा एमाले भित्रको विवाद मिलाउन आइतवार कार्यदल गठन भएपछि राष्ट्रिय सभा सदस्य निर्वाचनमा कसले बाजी मार्ला भन्ने कौतुहलता जागेको छ ।
राष्ट्रिय सभा अन्तर्गत रिक्त सदस्यका लागि बागमति प्रदेशमा यही जेठ ६ गते उपनिर्वाचन हुँदैछ । एमाले भित्रको विवाद समाधानका लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएर दुवै पक्षका ५/५ जना नेता रहेको कार्यदल बनाइएको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।
एमालेभित्रको विवादमा ओली र नेपालबीच पानी बाराबारको स्थिति भएको अवस्थामा गत बैशाख २४ गते ओली समूहबाट गृहमन्त्री रामबहादुर थापाले उम्मेदवारी दिए भने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमाले माधव समूहको साझा उम्मेदवारका रुपमा डा। खिमलाल देवकोटाले मनोनयन दर्ता गरे । तर उम्मेदवारी मनोनयन भैसकेपछि प्रधानमन्त्री ओली र नेता नेपालको चोचोमोचो मिल्न थालेकाले अब कसले निर्वाचन जित्ला भन्ने कौतुहलता बढेको छ।
एमालेका एक नेता भन्छन् , ‘ओलीले नेपाललाई प्रधानमन्त्रीमा विश्वासको मत लिन र राष्ट्रिय सभाको निर्वाचनका लागि आफ्ना उम्मेद्वारलाई जिताउन चालबाजी मात्रै गरेका हुन् । उनी थप्छन्, ‘दुबै पक्षबीच वार्ता भइरहेका बेला ओलीले झण्डै एक दर्जन बढी देशका लागि राजदूत नियुक्त गरे । ओलीले नेपाललाई अलमल्याउन खोजेका त हैनन् भन्ने आशंका छ। यदि भित्रि मनबाटै ओलीले एकता चाहेका र पार्टीलाई एक गराउन खोजेका हुन भने राम्रो हो ।’
एमालेमा अहिले जेठ २ कि फागुन २८ भन्ने बहस छ । एमालेमा भएको यो बहस २०७५ जेठ २ ९एमाले र माओवादी केन्द्र एकीकरण भएको अघिल्लो दिन ० र २०७७ साल फागुन २८ भन्ने हो । सर्वोच्च अदालतले २०७७ फागुन २३ गते एमाले र माओवादीलाई नेकपाबाट पूर्ववत् अवस्थामा फर्काइदिएपछि ओलीले माधव पक्षलाइ माइनस गरेर एकपक्षीय रुपमा पार्टीमा निर्णय गर्दे आएका छन् । फागुन २८ मा ओलीले सीमित नेताहरुलाई राखेर साविक एमालेका नेताहरुको जिम्मेवारी खोसेर केन्द्रीय कमिटी बैठकका नाममा पार्टीको सांगठनिक संरचनाका साथै विधान समेत परिवर्तन गरे । उनले साविक माओवादीबाट भित्रिएका २३ नेताहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने र केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय लिए । यसमा माधव पक्षको सहमति छैन । माधव पक्ष एकीकरण अघि २०७५ जेठ २ कै अवस्थामा पार्टी कमिटी र सांगठनिक संरचनालाई फिर्ता गर्नुपर्ने पक्षमा छ । ओली पक्ष फागुन २८ को निर्णयलाई सदर गरेर अघि बढ्नुपर्ने पक्षमा छ। ओलीले माधव सहित ४ जनालाई पार्टीबाट निलम्बन समेत गरे । तर राष्ट्रिय सभा निर्वाचनको मध्यनजर र गठबन्धन सरकार बन्न नसकेपछि अहीले एमालेको अल्पमतको सरकार चलाउँदै गरेका ओली ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएपछि माधवसँग नजिएका छन् । उनले माधवसहितका नेताहरुको कारवाही पनि फुकुवा गरेका छन् । यस कारण पनि अव राष्ट्रिय सभा निर्वाचनमा कसले बाजी मार्ला भन्ने प्रतिष्ठाको विषय बनेको छ। किनकि माधव पक्षले ओलीलाई सहयोग नगर्ने भनेर डा देवकोटालाई उम्मेदवार बनाउँदा कांग्रेस माओवादीसहित देवकोटाको पक्ष्मा उभिए। मतदानको दिन नजिकै आइरहेको अवस्थामा अब के होला त रु ओली नेपाल पक्षलाइ फकाउने रणनीतिमै छन्।
बागमतीमा मतादाताको अवस्था यस्तो छ
बागमती प्रदेशमा एमालेको मत एकै ठाउँमा पर्दा गृहमन्त्री थापाले सजिलै जित्छन् । तर माधव पक्षले सहयोग नगर्दा संघीयता विज्ञ डा देवकोटाले जित्न सक्छन् ।
उपनिर्वाचनमा बागमतिका प्रदेश सांसद र स्थानीय तहका प्रमुख र प्रमुखले मतदान गर्नेछन् । बागमती प्रदेशका ११० सांसद र स्थानीय तहका २३८ गरी ३४८ मतदाता छन् । प्रदेशसभाका एकजना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ ।
बागमती प्रदेशमा एमालेको ५,३१० मत भार हुन्छ । तर, यो मत विभाजन हुँदा एमाले उम्मेदवारलाई निर्वाचन जित्न हम्मे हम्मे पर्छ ।
कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धनसँग ३,९७८ मत भार छ । कांग्रेस, माओवादी, जसपा, साना दलसहित एमालेको माधव पक्ष एक ठाउँमा उभिँदा एमालेको समग्र मत भार घट्न जाने र गठबन्धनको बढ्न जाने देखिन्छ । राप्रपाले भने गृहमन्त्री थापालाई सघाउने बताएको छ । यसमा गृहमन्त्री थापा वा डा देवकोटा कसको पोल्टामा नतिजा आउला भन्ने स्पष्ट भैसकेको छैन।
#lokpath