हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्ज भएर २७ अर्बको बैंक बन्दै


नेपाली बैंकिङ इतिहासकै सबैभन्दा ठूलो मर्जरसम्बन्धी सम्झौता भएको छ । नेपालका पुराना र ठूला दुई वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच बिहीबार मर्जरको सम्झौता भएको हो । लामो अवधिदेखि मर्जरको चर्चा चलिरहेको भए पनि आगामी दुई महिनाभित्र मर्जर सम्पन्न गर्ने गरी दुई बैंकका अध्यक्षबीच प्रारम्भिक समझदारी भएको छ ।

समझदारीपत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसीप्रसाद गौतमले हस्ताक्षर गरेर मर्जरका लागि औपचारिक प्रक्रिया शुभारम्भ गरेका छन् । मर्जरपछि बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड हुनेछ ।

बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा हाल हिमालयन बैंकमा प्रमुख रहेका अशोकशमशेर राणा रहने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुवै बैंकको तर्फबाट ३–३ जना सञ्चालक नियुक्त हुनेछन् । स्वतन्त्र सञ्चालकको नियुक्ति भने नयाँ संचालक समितिले गर्नेछ ।

दुवै बैंकको सेयर स्वाप रेसियो एकबराबर एक हुने प्रारम्भिक सहमति भएको छ । हाल नेपाल इन्भेष्टमेन्टको चुक्ता पुँजी १६ अर्ब २६ करोड छ भने हिमालयन बैंकको १० अर्ब ६८ करोड चुक्ता पुँजी रहेको छ । दुई बैंकको मर्जरपछि चुक्ता पुँजी २६ अर्ब ९४ करोड हुनेछ । तर, पुनः विस्तृत ड्यु डेलिजेन्स रिपोर्ट सम्पत्ति दायित्वको प्रारम्भिक मूल्यांकन प्रतिवेदन तयार गरेपछि बैंकमा दुवै बैंकको सम्पत्ति र दायित्वको विस्तृत जानकारी आउनेछ । विस्तृत डिडिएले १० प्रतिशतसम्म प्रतिसेयर मूल्यमा तलमाथि देखाए पनि एकबराबर एक अनुपातमै मर्जर हुने बैंकहरूबीच आन्तरिक सहमति भएको छ ।

हाल नेपाल इन्भेष्टमेन्टको जगेडा तथा कोष १४ अर्ब १० करोड र हिमालयनको ७ अर्ब ६७ करोड छ । कर्जा लगानीका हिसाबले नेपाल इन्भेष्टमेन्टको १ खर्ब ६० अर्ब र हिमालयनको १ खर्ब २७ अर्ब रुपैयाँ छ । त्यस्तै, इन्भेष्टमेन्टले १ खर्ब ६८ अर्ब र हिमालयनले १ खर्ब ४३ अर्ब निक्षेप संकलन गरेका छन् । चुक्ता पुँजी, कर्जा लगानी र निक्षेप संकलन सबैका आधारमा यो बैंक नेपालकै सबैभन्दा ठूलो बन्नेछ ।

हिमालयन र नेपाल इन्भेष्टमेन्टमा अप्रत्यक्ष रूपमा पाँडे र राणा दुवै समूहको क्रस होल्डिङसमेत छ । हिमालयन बैंकमा पाँडेको लगानी रहेको छाया इन्टरनेसनलको ८ दशमलव ८९ प्रतिशत सेयर स्वामित्व छ । पारिवारिक सम्बन्ध रहेका यी दुई बैंकलाई मर्जरमा राष्ट्र बैंकले जोड दिँदै आएको थियो । हाल हिमालयन बैंकमा हबिब बैंक, कर्मचारी सञ्चय कोष, एन ट्रेडिङ कम्पनी, म्युचुअल ट्रेडिङ कम्पनी, अभा इटरनेसनल, छाया इन्टरनेसनल र शशिकान्त अग्रवालको एक प्रतिशतमाथि लगानी छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूबीच मर्जर गराउने प्रयास विगत केही वर्षदेखि गर्दै आएको भए पनि हालसम्म पाँच जोडी वाणिज्य बैंकहरू मर्जर हुँदा पाँच वाणिज्य बैंक विलय नै भएका छन् । यसअघि वाणिज्य बैंकहरूमा कमर्ज एन्ड ट्रस्ट बैंक र ग्लोबल आइएमई बैंक, जनता बैंक र ग्लोबल आइएमई बैंक, बैंक अफ एसिया र नेपाल इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक, लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू तथा किस्ट बैंक र ग्रान्ड बैंक हाल प्रभु बैंक बीच मर्जर भएका थिए ।

यी दुई बैंकबीचको मर्जरले अन्य बैंकहरूलाई पनि मर्जरमा प्रोत्साहित गर्ने इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेले बताए । दुई बैंक एक–आपसमा गाभिएपश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुने दुवै बैंकका अध्यक्षहरूले बताए । ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिबद्धता पनि दुवै बैंकका अध्यक्षले गरेका थिए ।

#नयाँपत्रिका दैनिक