काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह कोभिड-१९ संक्रमणमुक्त भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वराजा शाह बुधबार कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भएर डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
उनी बुधबार राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् । कोरोना संक्रमित भएपछि १९ दिनअघि शाह पूर्वरानी कोमल शाह र छोरी प्रेरणा शाहसँगै अस्पताल भर्ना भएका थिए । अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो ।
कोरोनाका लक्षणहरु हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि शाहलाई बुधबार डिस्चार्ज गरिएको हो । अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ ।
स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको अस्पतालले जनाएको छ । उनलाई केही दिनअघि स्वास्थ्य अवस्थामा सुधार भएपछि आईसीयुबाट वार्डमा सारिएको थियो ।
उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो । पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आएपनि उनी आमासँग अस्पतालमै छन् । पूर्वराजपरिवारका सदस्यको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो । नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेको थियो ।