प्रहरी अनुसन्धान नटुंगिएसम्म भेरी अस्पतालले बिरामीलाई रेमडिसिभर उपलब्ध नगराउने

बाँके – भेरी अस्पताल विकास समितिले प्रहरी अनुसन्धान सम्पन्न नभएसम्म कोरोना संक्रमितको उपचारमा अतिआवश्यक ‘रेमडिसिभिर’ कुनै पनि बिरामीलाई उपलब्ध गराउन नसकिने जनाएको छ।

आज (बुधबार) दिउँसो साढे ३ बजे जिल्ला प्रहरी कार्यालय बाँकेको एक अनुसन्धान टोली आएर अस्पतालको फार्मेसीमा मौज्दात रेमडिसिभिरको मुचुल्का उठाएर माथिको आदेश भनेर बेच्न रोक लगाएको अस्पताल विकास समितिले एक विज्ञप्ति जारी गरेर जनाएको छ।

यसअघि अस्पतालको आइसोलेसन वार्डमै चिकित्सक र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको र प्रहरी प्रशासनबाट पनि अनुगमनका नाममा पटकपटक कर्मचारीलाई हतोत्साहित हुने काम भइरहेको भन्दै अस्पतालले खेद प्रकट गरेको छ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, अनुगमनका नाममा प्रहरी प्रशासनबाट कर्मचारीलाई हतोत्साहित गराउने काम भएको छ।/

विभिन्न पक्षबाट अस्पतालमा भएको यस्तो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही माग गरिएको अस्पताल विकास समितिले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयबाट गएको अनुसन्धान टोलीले भेरी अस्पतालको ​रेमडिसिभिरको कालोबजारी भएको र यसबारे छानबिन भइरहेको भन्दै फार्मेसीलाई बिक्री गर्ने रोक लगाएको थियो।

रेमडिसिभिर कालोबजारी गरेको अभियोगमा आजै बिहान नेपालगन्जबाट दुई जना पक्राउ परेपछि उनीहरूको बयानका आधारमा भेरी अस्पतालको अस्पताल फार्मेसीलाई बिक्रीमा रोक लगाएको बाँके प्रहरीले जनाएको छ।

बाँके प्रहरीले यस अभियोगमा नेपालगन्जका मोहम्मद जावेद अन्सारी र हारुन अंशुलाई पक्राउ गरेको थियो। उनीहरूले दुई भाइल रेमडिसिभिर प्रतिभाइल २५र२५ हजार मूल्यमा बिक्री गरेका प्रहरीको आरोप छ।

उक्त रेमडिसिभिर उनीहरूले भेरी अस्पतालको फार्मेसीबाट लगेको बयान दिएका प्रहरीको भनाइ छ। भेरीसँग अहिले ३२ भाइल रेमसिडिसिभर बाँकी छ। केही दिनअघि भेरीले १ सय ९८ भाइल पाएको थियो।

उनीहरूले दुई भाइल ५० हजारमा बिक्री गरिरहेकै अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए। ती दुईको पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।

प्रहरीले उनीहरूमाथि कसरी, कहाँ र कोबाट रेमडिसिभर लिए, अहिलेसम्म कति बिक्री गरेजस्ता विषयमा गम्भीर ढंगले अनुसन्धान गरिहेको जनाएको छ।

यसैबीच रानाले अस्पताल विकास समितिले भनेजस्तो रेमडिसिभिर बिक्रीमा रोक नलगाएको प्रतिक्रिया दिएका छन्। पक्राउ परेका युवाले सोही फार्मेसीबाट खरिद गरेको बयान दिएका हुँदा छानबिनको दायरामा रहेको मात्र जानकारी दिए।

मुचुल्का उठाउने क्रममा केही असमझदारी उत्पन्न भएको तथा पछि प्रमुख जिल्ला अधिकारीको समन्वयमा सबै कुरा प्रस्ट नहुन्जेल रेकर्ड राखेर मात्र प्रयोग गर्ने भन्नेमा टुंगिएको रानाले जनाए। अब भने अस्पतालले जतिसुकै बेला पनि रेकर्ड राखेर बिरामीलाई औषधि प्रयोग गर्न सक्ने रानाले बताए। थाहाखबर ।