आफ्नो पालिकालाई आफै कोरोना निःसङ्क्रमण गर्नुपर्ने

काठमाडौँ –  अबदेखि कोरोना कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सबै स्थानीय तहले आ–आफ्नो पालिकालाई निःसङ्क्रमण गर्नुपर्ने भएको छ ।

कोरोनाको सङ्क्रमण समुदायमा फैलनबाट रोक्नका लागि सबै पालिकाले आ–आफ्नो पालिकाभित्र प्रतिरोधी तरल पदार्थ एवं औषधि छरी निःसङ्क्रमण गर्नुपर्ने भएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई परिपत्र गरी आआफ्नो पालिकाभित्र निःसङ्क्रमण गर्न भनेको छ । आ–आफ्नो पालिकाभित्र निःसङ्क्रमणका लागि निर्मलीकरण गर्ने व्यवस्था मिलाउने र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा पालना गर्नुपर्ने नियमहरूको सम्बन्धमा माइकिङलगायत अन्य विद्युतीय साधन प्रयोग गरी सचेतना अभिवृद्धि गर्न भनिएको छ ।
निषेधाज्ञा अवधिभर पालना गर्नुपर्ने अत्यावश्यक सेवालाई नियमित गराउन पालिकाका अध्यक्ष, प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले उपयुक्त व्यवस्था मिलाउने, आपूर्ति व्यवस्थालाई नियमित गर्न अति आवश्यक सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सम्बद्ध सबै निकायको सहयोग र समन्वयमा नियमित रूपमा बजार अनुगमन गर्नुपर्ने छ ।
मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले कोरोना रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार र प्रशासनसँग समन्वय गर्ने, उपलब्ध साधन र स्रोतको परिचालनमा मितव्ययिता अपनाउने, आवश्यकताअनुसार नजिकमा रहेका अन्तर स्थानीय तहसँग समन्वय र साझेदारी गर्ने, कोरोना रोकथाम र नियन्त्रणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने कार्य भए यथाशीघ्र मन्त्रालयमा लेखी पठाउने मन्त्रालयले सबै पालिकालाई आग्रह गरेको जानकारी दिनुभयो ।
कोरोना रोकथाम, नियन्त्रण उपचार र अनुगमनका लागि स्थानीय तहले १५ श(यासम्म क्षमता भएका सरकारी, सामुदायिक र गैरसरकारी निजी अस्पतालसँग सङ्क्रमित व्यक्तिको उपचारका लागि सम्झौता गर्नुपर्नेछ ।
उहाँका अनुसार होम क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्यको निगरानी तथा अनुगमन गरी थप उपचारको आवश्यक पर्ने देखिएमा प्रयोगशाला र अस्पतालसँग समन्वय तथा सहजीकरण गर्नुपर्ने छ । कोरोनाका लक्षण भएका व्यक्तिको एन्टिजेन परीक्षण गर्ने, नतिजा नेगेटिभ आएका व्यक्तिको पीसीआर परीक्षण गर्ने र पोजेटिभ आएका व्यक्तिको निकट सम्पर्कमा आएका व्यक्तिको एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्नुपर्नेछ ।
आवश्यकताअनुसार आफ्नो स्थानीय तहभित्र स्वाब सङ्कलन गर्ने व्यवस्था मिलाउने, स्थानीय तहभित्रका चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक जनशक्ति आवश्यकताका आधारमा स्वयंसेवक परिचालन गर्ने, स्थानीय तहमा द्रुत प्रतिकार्य समूह गठन गरी तयारी अवस्थामा राख्न मन्त्रालयलले आग्रह गरेको छ ।

#गोरखापत्र