नेपालगन्ज – नेपालगन्ज वडा नं. ६ फुल्टेक्रा गाउँ भित्र रहेको करीब ३ सय मिटर बाटोलाई हेर्दा नरैनापुरको विकट क्षेत्रको विकास नभए जस्तै देखिन्छ । बाटोमा हिड्ने बटुवाहरुले दैनिक रुपमै बाटो कहिले बन्ला भन्ने प्रश्न गर्छन् । तर ३ वर्ष अघि वडाअध्यक्ष मार्फत गरिएको प्रतिबद्धता हालसम्म पुरा नहुँदा टोलबासीहरुलाई समस्या उत्पन्न भएको छ ।
फुल्टेक्रा गाउँमा रहेको फुल्टेक्रा माध्यमिक विद्यालयदेखि नारायण बर्माको घरसम्म करीब ३ सय मिटर दुरी भएको बाटो विगत वर्षदेखि अब बन्ला, अब भन्ला भनी टोलबासी पर्खी बसेका छन् ।
तर बाटो बन्ने नाम कसैले लिंदैन, कारण एउटै छ– नारायण बर्मा र फुल्टेक्रा माध्यमिक विद्यालयले घर नभत्काउँदा ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख मेयर डा. धवलशमशेर राणाले भनेका छन, “हामीलाई घर तोडेर दिनुस्, हामी बाटो बनाई दिन्छौं, हामी कसैको घर तोड्न जाने होइन, नापी मार्फत निशान लगाईएको भागसम्म सबैले तोडेर क्लीयर गरेपछि हामीले बाटो आजै बनाउने छौं ।”
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष समिरप्रताप सिंहले यसमा धेरै समयदेखि चाँसो दिंदै आईरहेको बताउछन् ।
विगतमा टोलबासीहरुको उपस्थितिमा सम्झौता समेत भएको थियो तर त्यो सम्झौता अनुसार पनि नारायण बर्मा र फुल्टेक्रा माध्यमिक विद्यालयले भत्काउने तर्फ ध्यान दिएनन् । नारायण बर्माको अगाडी र पछाडी दुबै साईड काटिने हो, तर उनले कुनै पनि साईड काट्न तयार नभएको अवस्था छ, त्यसैगरी फुल्टेक्रा स्कुलले पनि विभिन्न बहानामा नकाट्ने सोचमा रहेको हुँदा बाटो निर्माण रोकिएको छ, म फेरी पनि अब सिडिओ सावलाई भनेर प्रयास गर्नेछु वडाअध्यक्ष सिंहले भने।
यता फुल्टेक्रा माध्यमिक विद्यालयका पूर्वअध्यक्ष ओमप्रकाश श्रीवास्तवले स्कूल सबैको साझा हो, स्कूलसित थप सम्पत्ति समेत नभएको अवस्थामा यदि तोडियो भने स्कूलमा अध्ययनरत विद्यार्थी पढ्न कहाँ जाने भनी उल्टै प्रश्न गर्ने गरेका छन्। स्कूल सरकारी हो, सरकारले चाहे तोड्न सक्छन् हामी केही भन्ने छैनौं ।
फुल्टेक्रा टोलका बासी दमनसिंह भन्छन– “यो बाटो हेर्दा नरैनापुरभन्दा पनि विकासमा पछि छौं, स्पष्ट देख्न सक्दछौं, नगर प्रमुखदेखि वडाप्रतिनिधि सम्मको आँखा यहाँसम्म पुग्न सकेको छैन ।’ पटक पटक गुनासो गर्दासम्म वडाअध्यक्षले यो–त्यो बहाना बाहेक हामीलाई अरु थप केही उपलब्ध दिन सकेका छैनन्भ।
यसैगरी नारायण बर्मा घर छेउमामा बस्ने श्रृजना गुरुङको भनाई अनुसार अब वर्षातको बेलामा नाली भित्रको पानी मेरो घरमा पस्छ, हामीले हरेक वर्ष वर्षातको पानी घरबाट बाहिर सोर्ने काम बाहेक थप केही भएको छैन, बाटोमा पटक–पटक ग्राबेल हालेर बाटोको उचाई बढाउनु बाहेक वडा कार्यालयले केही उपलब्ध दिन सकेको अवस्था छैन ।
हामीले वडाअध्यक्षलाई पनि यस विषयमा पटक–पटक जानकारी गराईसकेको अवस्था छ, तर वडाका कुनै प्रतिनिधिहरुको ध्यान यसतर्फ केन्द्रित हुन सकेको छैन ।
नयाँ–नयाँ टोलको बाटो पिसिआरदेखि पिच भएको पाईन्छ तर यहाँ बाटोमा फोहोरको थुप्रोदेखि हिलो बाहेक केही छैन ।
यसैगरी फुल्टेक्रा टोलका सुरज सोनीको गुनासो फरक पाईन्न, उनकाे भनाई अनुसार यस टोलको विकास कहिले होला भन्न सक्ने अवस्था छैन, वडाअध्यक्षलाई हामीले पटक पटक जानकारी गराई सकेका छौं, अब बनाउने भन्ने अश्वासन समेत उनीमार्फत आउने गर्छ, तर बाटो बन्दैन उनले भने ।
छिटोभन्दा छिटो बाटो बनाई हामीलाई पनि नगरमा बसेको अभाष दिलाउन वडाअध्यक्षलाई अनुरोध वडा बासिकाे छ ।
९० प्रतिशत टोलबासी घर भत्काउन तयार रहेको अवस्थामा नारायण बर्मा र फुल्टेक्रा स्कूलले गर्दा विकास कार्य रोकिनु कदापि सही होइन, यस वर्ष नगरप्रमुखको ध्यान केन्द्रित भई छिटोभन्दा छिटो बाटो निर्माण तर्फ ध्यान जाओस् फुल्टेक्रा टोलका सुमन गुरुङकले भने।