बालविवाहका कारण किशोरावस्थामै जटिल स्वास्थ्य समस्या

वीरेन्द्रनगर–१६ सुर्खेतकी नन्दा विकले १५ वर्षकै उमरेमा विवाह गरिन् । विहे गरेको एक वर्ष पनि बित्न नपाउँदै उनले छोरा जन्माइन् । स्कूल पढ्दापढ्दै प्रेम विवाह गरेकी १७ वर्षीया नन्दालाई सानै उमेरमा बिहे गर्नु र परिपक्व नहुँदै बच्चा जन्माउनुको असर अहिले आएर महसुस हुन थालेको छ ।

सुत्केरी भएपछि सुरु भएको उनको कम्मरको दुखाइ अझै कम भएको छैन । यसका साथै हातखुट्टा बाउँडिने, रिंगटा लाग्ने, आँखामा बादल लागेजस्तो हुने, आँखा तिर्मिराउनेजस्ता समस्यासँग लडिरहेकी छिन् । सानै उमेर बिहे र त्यसपछि आमा बन्दा स्वास्थ्यमा एकपछि अर्को समस्या आएको उनी बताउँछिन् । ‘सानै उमेरमा माया बस्यो, त्यतिबेला बालविवाहका बेफाइदाका बारेमा पनि थाहा थिएन,’ नन्दा भन्छिन्, ‘घरपरिवारले पढ भन्दाभन्दै भागेर विहे गरें, पढाइ पनि छुट्यो ।’

बालविवाहकै कारण न अहिले उनलाई स्वास्थ्यले साथ दिएको न त श्रीमान र घरपरिवारले नै । श्रीमान र घरपरिवारले वास्ता गर्न छाडेपछि यतिबेला उनी माइतीमा बस्दै आएकी छिन् । ‘विवाह गर्दा श्रीमानको कमाइ केही थिएन, जसले गर्दा आफू र बच्चालाई खानपिन र लत्ता कपडा जोहो गर्नै धौ–धौ भयो,’ उनी भन्छिन्, ‘अहिले त झन् श्रीमानको र घरपरिवारको साथ समेत पाएकी छैन । त्यसैले माइतीमै बसिरहेकी छु ।’

सुर्खेतको गुर्भाकोट नगरपालिका–४ की दुर्गा भण्डारीको कथा पनि नन्दाको जस्तै छ । तर उनलाई भने आफ्नो भविष्यको चिन्ताले सताउन थालेको छ । पाँच बर्षअघि ८ कक्षामा पढ्दै गर्दा दुर्गाले भागी विवाह गरेकी थिइन् । १४ बर्षकै उमेरमा विवाह गरेकी उनले १९ वर्षमा आइपुग्दा दुई सन्तानलाई जन्माइसकेकी छिन् । उमेर नपुग्दै विवाह गर्दा र आमा बन्दा स्वास्थ्यमा आउने समस्या त छँदैछ । दुर्गालाई यसका कारण विभिन्न अवसरबाट बञ्चित हुनु परेकोमा अझ धेरै पछुतो लाग्ने गर्छ । ‘सँगैका साथीहरु कोही जागिरे भए, कोही पढ्दैछन्,’ उनले भनिन्, ‘साथीहरुको उज्जवल भविष्य बन्दैछ । म भने बच्चाको स्याहार गर्दै बस्नु परेको छ ।’

दैलेखको भगवतीमाई गाउँपालिका–५ की अन्सु खड्काले सानै उमेरमा विवाह गरिन् । सानै उमेरमा विवाह गर्दा र आमा बन्दा भविष्य नै अन्धकारतिर धकेलिएको उनी बताउँछिन् । ‘सानै उमेरमा बच्चा जन्माउँदा स्वास्थ्यमा समस्या आइरहन्छ, पढाइ बीचैमा छोड्नुपर्दा भविष्य अन्धकारतिर धकेलियो,’ उनले सुनाइन् ।

सानै उमेरमा विवाह गर्ने र आमा बनेकाहरुमा स्वास्थ्यमा विभिन्न खालका समस्या देखिन थालेका छन् भन्ने कुरा माथिका तीन दृष्टान्त प्रष्ट पार्छ । कर्णाली प्रदेशमा बाल विवाह गरेर कलिलै उमेरमा बच्चा जन्माएर स्वास्थ्य समस्या भोग्ने थुपै्र युवतीहरु छन् । महिलाले २० बर्ष उमेर पार गरेपछिमात्र विवाह गर्नुपर्ने कानुनी प्रावधान छ । तर, अधिकांश युवा–युवतीले उमेर नपुग्दै भागी विवाह गर्छन् ।

बालविवाह दर उच्च रहेको कर्णाली प्रदेशमा केही बालविवाह त अभिभावककै मञ्जुरीमा हुने गरेका छन् । यसमा पहिलेको तुलनामा अहिले भने केही सुधार आएको छ । उमेर नपुग्दै भागी विवाह गर्ने र सानैमा आमा बन्नेको संख्या भने अझै बढिरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांकले समेत देखाउँछ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷०७५ यता २२ वटा बालविवाह सम्बन्धी मुद्धा आएका छन् । प्रहरीमा आउने मुद्धा अभिभावकको करकापमा गर्न लागिएको विवाह भएकोले मनोमानी बालविवाह गर्नेहरुको एकिन तथ्याङ्क राख्न नसकिने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ वाँस्तोला बताउँछन् ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो १० वर्ष (२०६७–२०७६) मा कर्णाली प्रदेशका १० हजार ७ सय २२ जनाले २० वर्ष नपुग्दै बच्चा जन्माएका छन् ।

बाल विवाहले बढायो सम्बन्धिविच्छेद

कर्णाली प्रदेशमा बालविवाहका कारण सम्बन्ध–विच्छेद पनि बढ्दै गएको पाइन्छ । जिल्ला अदालत सुर्खेत आर्थिक वर्ष २०७५/०७६ मा ४ सय २५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये ३ सय ३५ मुद्धा फस्र्यौट भैसकेका छन् । यस्तै, २०७६/७७ मा ४ सय २१ मुद्धा दर्ता भएकोमा २ सय ४९ फर्छयौट भैसकेको अदालतले जनाएको छ ।