कर्णाली र प्रदेश २ मा पुरुषहरुभन्दा महिला बढी खुशी, सबैभन्दा बढी खुशी बागमतीका

तस्बिर : डा. नवराज केसी

वीरेन्द्रनगर—कर्णालीमा महिलाहरु आर्थिक र सामाजिक रुपमा पुरुषहरुभन्दा पिछडिएको गुनासोहरु आइरहेका बेला रोचक तथ्य सतहमा आएको छ ।

एक अध्ययनले कर्णाली प्रदेशका महिलाहरु यहाँका पुरुषभन्दा बढी खुशी रहेको देखाएको छ । संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा केन्द्रीय तथ्यांक विभागद्वारा आ.व. २०७५/७६ मा संचालन गरिएको नेपाल बहुसूचक सर्वेक्षणले उक्त कुरा देखाएको हो ।

केन्द्रीय तथ्यांक विभागले असारको अन्तिम साता सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार कर्णाली प्रदेशका १५–४९ वर्ष उमेर समूहका ५२.७ प्रतिशत महिलाहरुले सर्वेक्षणमा ज्यादै खुशी वा केही हदसम्म खुशी देखाएको हो ।

खुशी हुने सोही उमेर समूहका पुरुषहरु संख्या भने ५०.२ प्रतिशत रहेको छ । वयस्क उमेर समूहमा जस्तै युवा महिलाहरुको खुशी दर पुरुषहरुको तुलनामा बढी भएको देखिएको छ । ६०.३ प्रतिशत १५–२४ वर्ष उमेर समूहका युवतीहरु तथा सोही उमेर समूहका ५५.७ प्रतिशत युवाहरुले ज्यादै खुशी वा केही हदसम्म खुशी रहेको कुरा अध्ययनमा व्यक्त गरेका छन् ।

सर्वेक्षणअनुसार नेपालका १५–४९ वर्ष उमेर समूहका महिला र पुरुषको खुशी दर क्रमशः ६२.४ र ६४.७ प्रतिशत रहेको छ । कर्णाली प्रदेशका महिलाहरु पुरुषभन्दा खुशी देखिएपनि महिला र पुरुष दुबैको खुशी दर राष्ट्रिय औसतभन्दा कम रहेको छ ।

खुशी महसुस गरेका महिलाहरुको अनुपात बागमती प्रदेशमा सबैभन्दा धेरै र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम रहेको छ । बागमती प्रदेशका ७२ प्रतिशत १५ देखि ४९ वर्ष उमेर समूहका महिलाहरु खुशी रहेकोमा सुदूरपश्चिम प्रदेशका ४०.४ प्रतिशत मात्र सोही उमेर समूहका महिलाहरु खुशी रहेको देखिन्छ ।

वयस्क र युवा दुवै उमेर समूहमा सुदूरपश्चिम प्रदेशका खुशी दर कम भएपनि दुवै समूहमा त्यहाँका खुशी रहेका पुरुषको संख्या राष्ट्रिय औसतभन्दा माथि देखिएको छ । खुशी भएको महसुस गर्ने १५–४९ उमेर समूहका पुरुषहरुको संख्या राष्ट्रिय रुपमा ६४.७ प्रतिशत रहेकोमा सुदूरपश्चिम प्रदेशमा यस्ता पुरुषहरुको संख्या ६९ प्रतिशत रहेको छ ।

सुदूरपश्चिममा खुशी हुने पुरुषको अनुपात नेपालमा बाग्मती प्रदेशपछि दोस्रो स्थानमा रहेको छ । पाँचवटा प्रदेशमा महिलाभन्दा पुरुष खुशी दर बढी रहेकोमा प्रदेश २ र कर्णाली प्रदेशमा भने खुशी रहेका महिलाको अनुपात पुरुषभन्दा बढी रहेको पाइएको छ ।